काठमाडौं। इरानलाई अमेरिका ले पाँचबुँदे सर्तसहित जवाफ पठाएको छ। फेब्रुअरी २८ देखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इरानले अमेरिकासमक्ष शान्ति प्रस्ताव पठाएको थियो।

फार्स समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानसमक्ष पाँच प्रमुख सर्त राखेको छ। ती सर्तअनुसार इरानले एउटा मात्र परमाणु केन्द्र सञ्चालन गर्न पाउने, अत्यधिक सम्वर्द्धित युरेनियमको मौज्दात अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने तथा विदेशमा रोक्का राखिएको इरानी सम्पत्तिको २५ प्रतिशतसमेत फुकुवा नगरिने उल्लेख छ।

advertisement

त्यसैगरी युद्धका क्रममा इरानमा भएको क्षतिको कुनै क्षतिपूर्ति नदिइने र वार्ताको सुरुआतमै सबै मोर्चामा पूर्ण युद्धविराम लागू गर्नुपर्ने सर्त पनि अमेरिकाले अघि सारेको जनाइएको छ।

इरानको समाचार एजेन्सी मेहरले अमेरिकाले कुनै ठोस छुट नदिई युद्धका क्रममा हासिल गर्न नसकेका विषय वार्तामार्फत प्राप्त गर्न खोजेको आरोप लगाएको छ। एजेन्सीका अनुसार यसले वार्तालाई थप जटिल र गतिरोधतर्फ धकेल्न सक्नेछ।

इरानले आफ्नो प्रस्तावमा लेबनानमा जारी इजरायली सैन्य अभियानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्न र अप्रिल १३ देखि इरानी बन्दरगाहमा लागू अमेरिकी नौसैनिक नाकाबन्दी हटाउन माग गरेको थियो।

गत साता आयोजित पत्रकार सम्मेलनमा इरानको परराष्ट्र मन्त्रालयले सबै अमेरिकी प्रतिबन्ध हटाउन र विदेशमा रोक्का राखिएको आफ्नो सम्पत्ति फुकुवा गर्न आग्रह गरेको थियो।

फार्सका अनुसार इरानले होर्मुज जलमार्गमाथिको नियन्त्रण कायम राख्ने अडान पनि दोहोर्‍याएको छ। विश्वव्यापी ऊर्जा आपूर्तिको महत्त्वपूर्ण मार्ग मानिने होर्मुज जलमार्ग युद्ध सुरु भएदेखि अधिकांश समय प्रभावित बनेको छ। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्ग हुँदै हुने गर्छ।

यसैबीच, इरानी सशस्त्र बलका प्रवक्ता अबोलफजल शेकार्चीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमाथि पुनः आक्रमण नगर्न चेतावनी दिएका छन्।

इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले पनि इरानी तेल पूर्वाधारलाई निसाना बनाउने कुनै पनि कदमविरुद्ध कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com