काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम दर्ता हुन आएका सबै रिट निवेदन तुरुन्त दर्ता गर्न आदेश दिएकी छन्।
यसअघि कानुन व्यवसायीहरूले दर्ता गर्न ल्याएका रिटहरू दरपीठ गरिएको तथा सो दरपीठविरुद्ध पुनः रिट दर्ता गर्न खोज्दा समेत अस्वीकार गरिएको भन्दै गुनासो उठेपछि उनले यस्तो निर्देशन दिएकी हुन्।
मल्लले आजै दिउँसो १ बजेसम्म सबै रिट निवेदन तथा दरपीठ आदेशविरुद्ध परेका निवेदनहरू दर्ता गरी भोलि जेठ ५ गतेका लागि पेशी तोकी अदालतमा पेश गर्नसमेत आदेश दिएकी छन्।
यस प्रकरणको सुरुवात संवैधानिक परिषदले चौथो वरीयताका डा. मनोज कुमार शर्मा लाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि भएको हो। उक्त सिफारिसविरुद्ध कानुन व्यवसायीहरूले रिट दायर गर्न खोज्दा सर्वोच्च अदालतले दरपीठ गरेको थियो। साथै, दरपीठविरुद्ध पनि रिट दायर गर्न खोज्दा मुख्य रजिस्ट्रारले अस्वीकार गरेको भन्दै कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए।
यसैबीच, केही कानुन व्यवसायीहरूले आजै कामु प्रधानन्यायाधीश मल्ललाई भेटेर आफ्ना गुनासा प्रत्यक्ष रूपमा राखेका थिए।
लिखित आदेशमा मल्लले उल्लेख गरेकी छन्, ‘कानुनले निर्धारण गरेको प्रक्रिया अनुसार अदालतमा दर्ता हुन आएका निवेदनहरू रोक्नु न्यायमा पहुँच अवरुद्ध गर्ने कार्य हो र यसले न्यायपालिकाप्रति जनविश्वासमा आँच पुर्याउँछ।’
उनले नेपालको संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ को दफा ३५ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७ अनुसार प्रधानन्यायाधीशको हैसियतले आवश्यक निर्देशन दिनुपर्ने अवस्था सिर्जना भएको स्पष्ट पारेकी छन्।



प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया