काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको छ।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि अध्यक्ष ओलीको उपस्थितिमा पहिलो पटक औपचारिक रूपमा बसेको बैठकमा नेताहरूको कार्यविभाजनलाई प्रमुख एजेन्डा बनाइएको छ।

advertisement

साथै, नेताहरूको वरीयता निर्धारण तथा निर्वाचन परिणामको समीक्षा पनि छलफलको विषय बन्न सक्ने बताइएको छ।

यद्यपि बैठक सुरु हुनुअघि एजेन्डाबारे सचिवालय सदस्यहरूलाई औपचारिक जानकारी नगराइएको बताइएको छ।

एक सचिवालय सदस्यका अनुसार बैठकमा नै कार्यविभाजनसम्बन्धी निर्णयबारे छलफल हुने अपेक्षा गरिएको छ।

एमालेले हालसम्म ११ औँ महाधिवेशन सम्पन्न गरे पनि नेताहरूको कार्यविभाजन, स्थायी कमिटी, पोलिटब्युरो तथा विभिन्न विभागहरूको गठन अझै गर्न सकेको छैन।

यस विषयले पार्टी संगठनात्मक संरचनामा ढिलाइ भएको संकेत गरेको नेताहरू बताउँछन्।

यसैबीच, एमाले नेता झपटबहादुर रावलले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन्।

उनले हालैको निर्वाचनपछि पार्टीले भोगेको पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

रावलका अनुसार फागुन २१ को निर्वाचनपछि करिब साढे दुई महिना बितिसक्दा पनि केन्द्रीय कमिटी बैठक बस्न नसक्नुले पार्टीभित्र मात्र होइन, कार्यकर्ता तहमा समेत निराशा र अन्योल बढाएको छ।

उनले सचिवालय बैठकमार्फत निर्वाचन पराजयको गम्भीर समीक्षा, पार्टी नीति तथा नेतृत्वको पुनर्गठन, नेतृत्वको जवाफदेहिता र नैतिक जिम्मेवारीको मूल्याङ्कन तथा केन्द्रीय कमिटी बैठक तत्काल बोलाउने विषयमा निर्णय हुनुपर्ने माग राखेका छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com