काठमाडौं। नेकपा (एमाले) का राष्ट्रिय सभामा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गाल ले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले देशका मुख्य आर्थिक चुनौती समाधान गर्न नसकेको टिप्पणी गरेका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पुँजीगत खर्च प्रणालीलाई प्रभावकारी बनाउने स्पष्ट कार्ययोजना नआएको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए।

advertisement

उनका अनुसार हरेक वर्ष असार महिनामा मात्र बजेट खर्च गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्न आवश्यक संरचनागत सुधारको खाका प्रस्तुत हुन सकेको छैन।

दङ्गालले भने, “नेपालमा असारमा मात्रै बजेट खर्च गर्ने असक्षम प्रवृत्ति पुरानै रोग बनेको छ।

त्यसलाई अन्त्य गर्न कस्तो संरचनागत परिवर्तन गर्ने भन्ने विषयमा कुनै ठोस योजना आएको छैन।

पुँजीगत खर्च प्रणालीलाई चुस्त बनाउने गरी स्पष्ट कार्ययोजना देखिएन।”

उनले देशको जनसांख्यिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाल क्रमशः वृद्धाश्रमजस्तो अवस्थामा पुगिरहेको बताए।

युवाहरू निरन्तर विदेश पलायन भइरहेका भए पनि उनीहरूलाई स्वदेशमै रोक्ने वा विदेश गएकालाई फर्काउने ठोस आर्थिक प्याकेज सरकारले ल्याउन नसकेको उनको भनाइ थियो।

दङ्गालका अनुसार बजेटका सिद्धान्त र प्राथमिकतामा युवामैत्री रोजगारी, उत्पादन वृद्धि र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम प्रभावकारी रूपमा समेटिन सकेका छैनन्।

उनले मूल्यवृद्धि नियन्त्रण गरी आम नागरिकलाई राहत दिने विश्वसनीय आधारसमेत प्रस्तुत नगरिएको टिप्पणी गरे।

त्यस्तै, उनले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले नेपालको असंलग्न परराष्ट्र नीतिमा समेत चुनौती थप्ने अवस्था सिर्जना गरेको आरोप लगाए।

साथै, वैदेशिक अनुदान र सहायता परिचालनसम्बन्धी नीतिमा स्पष्टता अभाव रहेको उनको धारणा थियो।

प्रकाशित मिति: ४ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com