काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप लागेका आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।
मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीविरुद्ध आरोप सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर व्यापक चासो र आलोचना बढेको छ।
रास्वपा स्रोतका अनुसार पार्टीले कार्कीसँग औपचारिक रूपमा स्पष्टीकरण माग्ने तयारी गरेको छ भने जवाफ चित्तबुझ्दो नभए कारबाहीसमेत हुन सक्ने बताइएको छ।
आरोपअनुसार २६ वर्षीया नाइजेरियाली युवती रिता अजुको हाल गर्भवती अवस्थामा छिन्।
उनले आफू आर्थिक रूपमा समस्यामा परेको र सांसद कार्की सम्पर्कविहीन बनेको गुनासो गरेकी छन्।
युवतीका अनुसार गर्भवती भएको जानकारी पाएपछि कार्की उनीसँग सम्पर्कबाट टाढिएका हुन्।
ठमेल क्षेत्रमा बसोबास गर्दै आएका कार्की र अजुको लामो समयदेखि सहजीवनमा रहेको बताइएको छ।
युवतीले आफ्नो इच्छा विपरीत शारीरिक सम्बन्ध भएको आरोपसमेत लगाएकी छन्।
उनका अनुसार गर्भ रहेको थाहा पाएपछि आफूले गर्भपतन गर्न चाहेको भए पनि कार्कीले त्यसो नगर्न दबाब दिएका थिए।
अस्पतालका कागजातमा पतिको नाम कृष्ण कार्की उल्लेख भएको र कार्कीले पठाएका निजी सन्देशहरू पनि सार्वजनिक भएको जनाइएको छ।
सांसद कार्की यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्।
उनीमाथि नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको आगजनी घटनामा संलग्न रहेको आरोप लागेको थियो।
त्यतिबेला पनि रास्वपाले विवादित पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै आलोचना खेप्नुपरेको थियो।
मोरङको रतुवामाई नगरपालिका–९ स्थायी घर भएका कार्की वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति हुन्।
उनी हालै मात्र नेपाल फर्किएको बताइएको छ।
गत निर्वाचनमा कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै विजयी भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिलीपकुमार बगडिया ले १४ हजार ६२४ मत पाएका थिए भने नेपाली कांग्रेसका मिनेन्द्र रिजाल तेस्रो स्थानमा सीमित भएका थिए।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया