काठमाडौं। समसामयिक सामाजिक यथार्थ र महिला सशक्तिकरणको विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ नेपाली धारावाहिक सिरियल ‘सम्झौता’ सार्वजनिक भएको छ।
समाजमा महिलाले भोग्दै आएका संघर्ष, पीडा, विभेद र आत्मसम्मानको लडाइँलाई कथामा मार्मिक ढंगले प्रस्तुत गरिएको निर्माण टोलीले जनाएको छ।
विशेषगरी पारिवारिक तथा सामाजिक दबाबबीच आफ्नो अस्तित्व खोज्दै अघि बढ्ने महिलाको संघर्षलाई धारावाहिकमा सशक्त रूपमा देखाइएको छ। मनोरञ्जनसँगै सकारात्मक सामाजिक सन्देश दिने उद्देश्यले निर्माण गरिएको यस धारावाहिकले दर्शकमाझ फरक अनुभूति दिने विश्वास निर्माण टोलीको रहेको छ।
यस धारावाहिकका लेखक तथा निर्देशक विजय मगर हुन्। उनले वर्तमान समाजका यथार्थ घटनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले ‘सम्झौता’ निर्माण गरिएको बताएका छन्।
धारावाहिकमा सरिता ढुंगाना, एके अर्जुन खड्का, स्नेहा कटुवाल, टेक विक्रम थापा, गीता थापा, अर्जुन कटवाल, नवीन काफ्ले, भूमिका गिरी, रामबाबु रेग्मी, समाना सिटौला, पुकार चापागाईं, विशाल वाग्ले लगायत कलाकारहरूको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनयले कथालाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको भनाइ छ।
धारावाहिकको शीर्ष गीतमा गीत तथा संगीत विजय मगरको रहेको छ भने स्वर सम्झना योङहाङले दिएकी छन्। गीतको सङ्गीत संयोजन आदेश गुरुमच्छानले गरेका हुन् भने ध्वनि मिश्रण तथा परिष्करण सुभाष कुथुमी राईले गरेका छन्।
श्रृङ्गार कलाकारमा आकृति खड्का रहेकी छन्। प्राविधिक टोलीमा अनिल पराजुली, टाइलन राई र आशिष खत्रीको योगदान रहेको छ।
निर्माण टोलीमा उनिश मेवाहाङ तथा अनिल पराजुली रहेका छन् भने पृष्ठभूमि सङ्गीत आदेश गुरुमच्छानले तयार गरेका हुन्।
‘सम्झौता’ को छायांकन विशाल थापा र उनको टोलीले गरेका हुन्। सम्पादन तथा रङ संयोजनमा एके अर्जुन खड्काको काम रहेको छ भने पश्च–निर्माण दामी क्रियसनले गरेको हो।
यस धारावाहिककी सहायक निर्देशक स्वयं मुख्य कलाकार सरिता ढुंगाना रहेकी छन्। निर्माण टोलीका अनुसार कथाको निर्माण शैली अन्य प्रस्तुतीभन्दा फरक राखिएको छ, जहाँ भावनात्मक प्रस्तुति, सामाजिक यथार्थ र सशक्त सन्देशलाई विशेष प्राथमिकता दिइएको छ।
महिला सशक्तिकरण र सामाजिक चेतनाको सन्देश बोकेको ‘सम्झौता’ ले नेपाली दर्शकमाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया