काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माले आफ्नो कार्यसम्पादनको प्रगति विवरण प्रत्येक चार महिनामा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामार्फत उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । समितिले बनाएको कार्यविधिअनुसार सुनुवाइबाट अनुमोदित हुने व्यक्तिले आफ्नो कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार सर्वोच्च अदालतको वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने उनले स्पष्ट पारेका छन् ।
उनको कार्ययोजनामा उल्लेख छ, ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३ को दफा २९ बमोजिम कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण चौमासिक रूपमा सर्वोच्च अदालतको वेबसाइटमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
डा. शर्माले प्रधानन्यायाधीशको जिम्मेवारीप्रति आफू पूर्ण रूपमा स्पष्ट रहेको पनि बताएका छन् । उनले संविधानअनुसार स्वच्छ, निष्पक्ष, छिटोछरितो तथा गुणस्तरीय न्याय सम्पादन गर्दै सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो प्रमुख दायित्व हुने उल्लेख गरेका छन् ।
यसैगरी, संविधानको धारा १३६ ले निर्धारण गरेको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारीप्रति पनि आफू सजग र संवेदनशील रहेको उनले बताएका छन् ।
संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट न्यायिक सुशासन सुदृढ हुने र न्यायपालिकाप्रति जनविश्वास अभिवृद्धि हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।
‘जनताले भरोसा गर्ने न्यायपालिका निर्माण गर्नु मेरो निरन्तर प्रयास रहनेछ,’ उनले भनेका छन्, ‘मेरो नेतृत्वमा न्यायपालिका संविधानप्रति उत्तरदायी, नागरिकप्रति संवेदनशील, विधिको शासनप्रति प्रतिबद्ध र सबै प्रकारका प्रभाव तथा दबाबबाट स्वतन्त्र रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया