काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय उपलब्ध नगराएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

मंगलबार बसेको बैठकका क्रममा साम्पाङ बीचमै उठेर बोल्न समय मागेका थिए । तर सभामुख अर्यालले समय तथा माइक उपलब्ध गराउन अस्वीकार गर्दै बस्न आग्रह गरेका थिए ।

advertisement

सभामुखले ‘कुन समयअन्तर्गत बोल्न खोज्नुभएको हो—आकस्मिक, शून्य वा विशेष समय ?’ भनी सोधेका थिए । साम्पाङले आकस्मिक समय मागे पनि सभामुखले विषय स्पष्ट गर्न भन्दै पुनः बस्न निर्देशन दिएका थिए ।

समय नपाएपछि पनि साम्पाङले आफ्नो असन्तुष्टि व्यक्त गर्दै संसद सञ्चालन प्रक्रियामाथि प्रश्न उठाए । उनले प्रधानमन्त्रीलाई प्रश्न गर्ने विषयलाई लिएर भइरहेको व्यवहार नियम र संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरे ।

साम्पाङले प्रतिपक्षलाई बोल्ने अवसर सीमित गरिएको आरोपसमेत लगाए । ‘सत्तापक्षले काम गर्ने हो, प्रतिपक्षलाई प्रश्न उठाउने पर्याप्त समय हुनुपर्छ,’ भन्दै उनले आफूहरूलाई बारम्बार छोटो समयमै सीमित गरिने बाध्यता रहेको बताए ।

त्यसै क्रममा उनले बैठकमा सांसदहरूको अनुपस्थितिप्रति पनि असन्तोष जनाए । आधाभन्दा बढी सिट खाली रहेको उल्लेख गर्दै अनुपस्थित सांसदमाथि आवश्यक कारबाही गर्नुपर्ने उनको माग थियो ।

‘हामी दिनभरि बैठकमा बस्नुपर्ने, अरू भने उपस्थित नहुने अवस्था ठीक होइन,’ भन्दै उनले आफू पनि बैठक छाडेर जाने घोषणा गरेका थिए । त्यसपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका हुन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com