ललितपुर। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको संयुक्त आयोजनामा ‘आरोग्य संवाद: आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र र विज्ञहरूले नेपाललाई विश्वस्तरको आरोग्य (वेलनेस) पर्यटन गन्तव्यका रूपमा विकास गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन्।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल ‘गणेश’ ले नेपालका प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद र आध्यात्मिक परम्परालाई आरोग्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार बनाउन सकिने बताए।
उनले आरोग्यलाई केवल शारीरिक स्वास्थ्यमा सीमित नराखी मानसिक, सामाजिक र वातावरणीय पक्षसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री पौडेलले आरोग्य पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने नीतिगत योजना अघि बढाइने प्रतिबद्धता समेत जनाए।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक भानु गुरुदेवले विश्व पर्यटन बजार क्रमशः ‘वेलनेस टुरिजम’ तर्फ उन्मुख भइरहेको उल्लेख गर्दै नेपालले यस क्षेत्रबाट ठूलो लाभ लिन सक्ने बताए।
उनका अनुसार अन्य पर्यटकको तुलनामा वेलनेस पर्यटकहरू लामो समय बस्ने र बढी खर्च गर्ने भएकाले गण्डकी र लुम्बिनी प्रदेशलाई नमुना आरोग्य प्रदेशका रूपमा विकास गर्न सकिने सम्भावना छ।

अर्का संस्थापक रमेश गुरुदेवले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने बताउँदै सहभागीहरूलाई ध्यान अभ्याससमेत गराएका थिए।
संवाद कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका संयोजक तथा पूर्व मुख्यसचिव डा. वैकुण्ठ अर्यालले ‘आरोग्य पर्यटन र आरोग्य वर्ष’ सफल बनाउन आवश्यक कार्यान्वयन पक्षबारे कार्यपत्र प्रस्तुत गरे।

सो अवसरमा पर्यटन सचिव मुकुन्द निरौला, स्वास्थ्य सचिव डा. विकास देवकोटा तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठलगायतले अन्तर–मन्त्रालय समन्वय र निजी क्षेत्रको सहकार्य अनिवार्य रहेको धारणा राखे।
आयोजकका अनुसार सन् २०२७ लाई आरोग्य वर्षका रूपमा सफल बनाउन र नेपाललाई अन्तर्राष्ट्रिय वेलनेस गन्तव्यका रूपमा स्थापित गर्न नीतिगत तथा कार्यान्वयन प्रक्रिया तीव्र बनाइनेछ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया