काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाह ले आफूलाई पटक–पटक भेट्ने प्रयास गरेको दाबी गर्दै त्यसकै संकेतस्वरूप आफूले संसद्मा कालो पोसाक लगाएर उपस्थित भएको बताएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले देशमा राजतन्त्र फर्किन सक्ने सम्भावनाबारे संकेत गर्दै सांकेतिक विरोधका रूपमा कालो पोसाक प्रदर्शन गरेको बताए।
उनका अनुसार विरोध र असन्तुष्टि जनाउन कालो पोसाकलाई प्रतीकात्मक रूपमा प्रयोग गरिएको हो।
ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो धेरै पटक भेट्ने प्रयास भएको उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा भने, “उहाँले धेरै पटक मसँग भेट्ने प्रयास गर्नुभएको थियो।
आज म यो ड्रेस लगाएर आएको छु, शायद उहाँलाई याद आउँछ कि भनेर।”
उनको यो अभिव्यक्ति र कालो पोसाक प्रदर्शनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पछिल्ला दिनहरूमा देशमा राजतन्त्र र हिन्दु राष्ट्रको बहस पुनः चर्किरहेका बेला ठाकुरको टिप्पणीले थप राजनीतिक चर्चा सिर्जना गरेको छ।
संसद्मा उनले ‘पराधीन सपनामा सुख छैन’ भन्ने उखान उद्धृत गर्दै वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे।
उनले आफू मधेसी र नेपाली दुवै पहिचान भएको उल्लेख गर्दै देशको राजनीतिक गतिविधिबारे आफू जानकार रहेको दाबी गरे।
ठाकुरको अभिव्यक्तिले सत्ता र विपक्षी राजनीतिक समीकरणका बीच पूर्वराजासँग सम्बन्धित विषयलाई फेरि बहसको केन्द्रमा ल्याएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया