काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिका-९ भुल्लेस्थित सडकमा छिन्चुबाट सल्लिबजारतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १२४१ नम्बरको ट्रकले रा.४ प ८६४१ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सल्यान सारदा नगरपालिका-१३ बस्ने ४० वर्षीय ढाकाबिर भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक र मोटरसाइकलका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङको थाक्रे गाउँपालिका-६ दशकिलास्थित सडकमा गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ४७८१ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९३ वर्षीया गंगा देवी बिडारीको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको थाक्रे पोलिक्लिनिक हुँदै गजुरी प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका-२ बाह्रकिलास्थित सडकमा बा.३ क २०६९ नम्बरको गाडी बा.४ क ०६२७ नम्बरको गाडीमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा बा.३ क २०६९ नम्बरको गाडी चालक गजुरी गाउँपालिका-६ बस्ने २५ वर्षीय दिनेश भुजेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बा.४ क ०६२७ नम्बरको गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया