काठमाडौं। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले नेपाली कांग्रेस तत्काल विभाजन हुने सम्भावना नरहेको बताएका छन् ।

उनले पार्टीभित्रको एकता जोगाउन वर्तमान नेतृत्वले सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिएका छन् ।

advertisement

प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बलायरले विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका नेताहरूले पार्टीभित्र असन्तुष्ट पक्षलाई सम्बोधन गर्नुपर्ने बताए ।

उनले कांग्रेसभित्र अझै पनि ठूलो राजनीतिक शक्ति पार्टी केन्द्रीय कार्यालय सानेपाभन्दा बाहिर रहेको उल्लेख गर्दै त्यो शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने धारणा राखे ।

उनले भने, “अहिले पनि ठूलो ताकत सानेपाभन्दा बाहिर छ । सानेपा र बाहिर रहेको यो शक्ति एकै ठाउँमा जानुपर्छ ।

त्यसका लागि गगन थापाले समाधानको बाटो दिनुपर्छ । तत्काल पार्टी फुट्दैन ।

अहिलेको नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ ।”

बलायरले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूलाई अपमानजनक व्यवहार गर्न नहुने बताएका छन् ।

उनले विगतमा नेतृत्व गरेका नेताहरूको सम्मान कायम राख्नुपर्नेमा जोड दिँदै १५औँ महाधिवेशनसम्म पार्टी एकताबद्ध रहन आवश्यक रहेको बताए ।

उनले कानुनी रूपमा गगन थापा पार्टी सभापति भए पनि भावनात्मक रूपमा सबैको नेता बन्न नसकेको टिप्पणी गरे ।

अदालत र निर्वाचन प्रक्रियाबाट आएको नेतृत्वलाई आफूहरूले स्वीकार गरिसकेको भए पनि पार्टी अझै पूर्ण रूपमा एक ढिक्का हुन नसकेको उनको भनाइ थियो ।

देउवा समूहले काठमाडौंमा खोलेको सम्पर्क कार्यालयलाई फुटको संकेतका रूपमा नबुझ्न आग्रह गर्दै बलायरले त्यसलाई आन्तरिक समन्वयको प्रयासका रूपमा हेर्नुपर्ने बताए ।

उनले जेठ १० गते सुदूरपश्चिममा आयोजना हुने कार्यक्रमलाई गुटको भेलाका रूपमा नबुझ्न आग्रह गर्दै कांग्रेसलाई पुनः बलियो बनाउने उद्देश्यले छलफल गर्न लागिएको जानकारी दिए ।

बलायरले कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै कांग्रेस कमजोर भए देशको राष्ट्रियतामाथि नै असर पर्ने टिप्पणी गरे ।

उनले पार्टी विभाजन गर्ने मनसाय निवर्तमान सभापति शेरबहादुर देउवाको पनि नरहेको स्पष्ट पारे ।

वर्तमान नेतृत्वले केही सीमित व्यक्तिलाई मात्र सम्बोधन गरिरहेको आरोप लगाउँदै उनले पार्टीभित्र अपमानको राजनीति भइरहेको गुनासो गरे ।

बलायरले राष्ट्रिय सभा दलका नेताको हटाइलाई पनि अपमानजनक शैलीको उदाहरणका रूपमा प्रस्तुत गरे ।

“दास र लास बन्न सकिँदैन,” उनले भने, “वर्तमान नेतृत्वले सबैलाई समेट्न सक्नुपर्छ ।”

उनले पछिल्लो निर्वाचनमा कांग्रेसले ठूलो हार बेहोरेको उल्लेख गर्दै अब स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गरी पार्टीलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्ने धारणा राखे ।

सत्ता समीकरणबारे बोल्दै बलायरले कांग्रेस तत्काल नेकपासँग सहकार्यमा जाने सम्भावना कम रहेको बताए ।

एमालेसँगको वर्तमान सहकार्य तत्काल नटुट्ने संकेत गर्दै उनले प्रदेश सरकारहरूको हेरफेर पनि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको समझदारीपछि मात्र हुने दाबी गरे ।

उनले भने, “देउवा र ओलीको सहमतिपछि मात्रै यी प्रदेश सरकारहरू हेरफेर हुन्छन् ।”

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com