काठमाडौं। प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई र सभामुख डोलप्रसाद अर्यालबीच नियमावली लाई लिएर रोचक संवाद भएको छ ।
बैठकमा लगातार प्लेकार्ड प्रदर्शन गर्दै आएका राईलाई सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार चेतावनी दिएपछि राईले पनि नियमावलीकै अर्को व्यवस्था उल्लेख गर्दै प्रश्न उठाएका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसद राईले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएका थिए ।
त्यसपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम ३० अनुसार उनको व्यवहारप्रति आपत्ति जनाउँदै सचेत गराएका थिए ।
नियम ३० मा बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ ।
उक्त नियममा भनिएको छ, “बैठकमा अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्नेछ ।”
सभामुखको चेतावनीपछि सांसद राईले भने नियमावलीकै नियम १५ को प्रसंग उठाउँदै प्रतिप्रश्न गरे ।
उनले सभामुखलाई सोधे, “प्रतिनिधिसभा नियमावलीको नियम १५ पालना गराउनु भयो ?”
नियम १५ मा शून्य र विशेष समयसम्बन्धी व्यवस्था गरिएको छ ।
उक्त नियमअनुसार सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन शून्य वा विशेष समयमा बोल्न पाउने व्यवस्था छ ।
नियम १५ को उपनियम (१) मा भनिएको छ, “सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्नेछ ।”
त्यसैगरी, सोही नियममा गम्भीर प्रकृतिका आकस्मिक विषयमा सांसदले तत्काल समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्ने व्यवस्था पनि उल्लेख गरिएको छ ।
सांसद राईले आफूले उठाउन खोजेका विषयमा बोल्ने अवसर नपाएको संकेत गर्दै नियम १५ को व्यवस्था कार्यान्वयन गर्न सभामुखलाई आग्रह गरेका थिए ।
पछिल्ला केही दिनयता श्रम संस्कृति पार्टीले सदनमा विभिन्न माग राख्दै लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया