काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै प्रकारको गुटबन्दी नरहेको स्पष्ट पारेका छन्।

संघीय संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विभिन्न पृष्ठभूमिका राजनीतिक शक्तिहरू समेटिएको भए पनि सबैको साझा उद्देश्य राष्ट्र निर्माण भएकाले गुट–उपगुटको सम्भावना नरहेको बताए।

advertisement

आगामी महाधिवेशनबारे बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टीभित्र वा जनस्तरमा खोजिएको अवस्था नरहेको दाबी गरे।

संसदीय गतिविधि र बजेट छलफलबारे उनले यसपटक विनियोजन विधेयक तथा नीति–कार्यक्रममाथिको छलफल अघिल्ला वर्षको तुलनामा छिटो सम्पन्न भए पनि सार्थक रहेको उल्लेख गरे। प्रतिपक्षले उठाएका महत्वपूर्ण सुझावहरूलाई बजेटमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्री र अर्थमन्त्रीबाट आएको पनि उनले बताए।

प्रधानमन्त्री संसद्मा अनुपस्थित रहेको भन्ने आरोपको खण्डन गर्दै पराजुलीले प्रधानमन्त्री आफ्नो दायित्व निर्वाहमा सक्रिय रहेको जिकिर गरे।

सरकारको १०० दिने कार्ययोजनाबारे जानकारी दिँदै उनले मन्त्रीहरू औपचारिक कार्यक्रमभन्दा नतिजामुखी काममा केन्द्रित रहेको दाबी गरे।

पार्टीका नेतामाथि लागेका आरोपका विषयमा उनले पूर्व गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिइसकेको र सम्पत्ति छानबिनका लागि समिति गठन भइसकेको जानकारी दिए।

मोरङ क्षेत्र नम्बर २ का सांसदसहित अन्य नेतामाथि लगाइएका आरोपहरू आधारहीन र चरित्रहत्या गर्ने उद्देश्यले आएको दाबी गर्दै उनले रास्वपा विधि र प्रक्रियामा विश्वास गर्ने पार्टी भएको दोहोर्‍याए।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com