काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि न्यून बजेटका बाबजुद महत्वाकांक्षी योजनाहरू प्रस्तुत गरेको छ ।
मन्त्रालयले देवभूमि नेपाल अभियान, योग तथा आयुर्वेद पर्यटन, हिल स्टेसन र जनकपुरलाई वेडिङ सिटी बनाउने जस्ता कार्यक्रम अघि सारेको हो ।
मन्त्रालयलाई आगामी वर्षका लागि १ अर्ब २७ करोड रुपैयाँ मात्र बजेट प्राप्त भएको छ ।
तर चालु आर्थिक वर्षकै पुरानो दायित्व १ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।
यस्तो अवस्थामा पनि मन्त्रालयले पर्यटन प्रवर्द्धन र नागरिक उड्डयन क्षेत्रको सुधारमा जोड दिएको छ ।
मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवा प्रदायक र नियामक निकायमा अलग–अलग गर्ने पुनर्संरचना, युरोपमा सिधा हवाई उडान र भैरहवा विमानस्थल पूर्ण सञ्चालन गर्ने योजना ल्याएको छ ।
पर्यटनतर्फ ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने, योग/ध्यान र आयुर्वेद पर्यटनलाई प्रोत्साहन दिने, होमस्टेलाई जीवित सङ्ग्रहालयको रूपमा विकास गर्ने र दलित होमस्टेको अवधारणा अघि सार्ने योजना छ ।
सातै प्रदेशमा हिल स्टेसन निर्माण, ग्रेट हिमालयन ट्रेललाई फ्ल्यागसिप कार्यक्रम बनाउने, नयाँ पर्यटकीय ट्रेल तथा गन्तव्य विकास गर्ने पनि प्रस्ताव गरिएको छ ।
विशेषगरी जनकपुरधामलाई वेडिङ सिटी (विवाह गन्तव्य) का रूपमा विकास गर्ने र जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने योजना छ ।
यसबाहेक बौद्ध तथा हिन्दु धार्मिक सर्किट निर्माण, पशुपतिनाथ, लुम्बिनी र जनकपुरको प्रवर्द्धनलाई तीव्रता दिने लगायत कार्यक्रम समावेश छन् ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया