काठमाडौं । अभियन्ता किरण बिकले पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बरालको पक्राउको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
अवैध डिम्ब कारोबार तथा मानव शोषणसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै बिकले भण्डारीविरुद्ध विगत ६ महिनादेखि निरन्तर आन्दोलन गर्दै आएका छन्। प्रदर्शनका क्रममा उनले दोषीमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिकका अनुसार बबरमहलस्थित होप फर्टिलिटी सेन्टर मा नेपाल प्रहरीले यसअघि छापा मारेर मुद्दा दर्ता तथा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो। उनले भण्डारी महान्यायाधिवक्ता रहेका बेला उक्त मुद्दा फिर्ता लिइएको आरोप समेत लगाएका छन्।
उनले पूर्वमहान्यायाधिवक्ता भण्डारी पक्राउ नपरेसम्म आन्दोलन जारी रहने बताएका छन्। यसअघि पनि बिकले बुटवल र पाल्पालगायत स्थानमा पुगेर होप फर्टिलिटी सेन्टरविरुद्ध प्रदर्शन तथा अभियान सञ्चालन गरिसकेका छन्।
बिकले राष्ट्रिय मानवअधिकार आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा गृह मन्त्रालय मा समेत निवेदन दर्ता गराएको जानकारी दिएका छन्।
प्रदर्शनका क्रममा उनले पीडित किशोरीहरूले न्याय पाउनुपर्ने भन्दै घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया