नयाँ दिल्ली । भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा विवादास्पद टिप्पणीपछि भारतमा सामाजिक सञ्जालमार्फत ‘कक्रोच जनता पार्टी’ नामक अभियान तीव्र रूपमा फैलिएको छ। विशेषगरी युवालाई ‘कक्रोच’सँग तुलना गरिएको भनाइ सार्वजनिक भएपछि उक्त अभियानले डिजिटल प्लेटफर्ममा व्यापक चर्चा पाएको हो।

केही दिनमै ‘कक्रोच जनता पार्टी’को इन्स्टाग्राम ह्यान्डलमा फलोअर्सको संख्या तीव्र रूपमा बढ्दै १ करोड १८ लाखभन्दा माथि पुगेको बताइएको छ। यस अभियानका नाममा वेबसाइटसमेत सञ्चालनमा आएको छ भने एक्स (पूर्व ट्विटर) लगायत अन्य सामाजिक सञ्जालमा पनि यसको उपस्थिति उल्लेख्य देखिएको छ। रिपोर्टअनुसार वेबसाइटमार्फत २ लाखभन्दा बढी व्यक्तिले सदस्यताका लागि दर्ता गरिसकेका छन्।

advertisement

यस अभियानका सर्जक अभिजीत दीपकेले बीबीसीसँग कुरा गर्दै सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाबाट नै यस्तो अभियान सुरु भएको बताएका छन्। उनका अनुसार प्रधानन्यायाधीश सूर्यकान्तको अभिव्यक्ति सुनेपछि उनले एक्समा ‘सबै कक्रोच एकजुट भए भने के हुन्छ ?’ भन्ने पोस्ट गरेका थिए। यही पोस्ट केही घण्टामै भाइरल बन्दै ठूलो डिजिटल अभियानमा परिणत भएको थियो।

दिल्ली उच्च अदालतमा वरिष्ठ वकिल नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश सूर्यकान्तले सामाजिक सञ्जालमार्फत प्रणालीको आलोचना गर्ने केही युवालाई ‘कक्रोच’ र ‘परजीवी’को संज्ञा दिएको आशयको अभिव्यक्ति दिएको बताइएको थियो।

उक्त टिप्पणी सार्वजनिक भएपछि बेरोजगारी, परीक्षा अनियमितता र आर्थिक समस्यासँग जुधिरहेका धेरै भारतीय युवाले त्यसलाई अपमानजनक रूपमा लिएका थिए। त्यसपछि सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको थियो।

विवाद चर्किएपछि प्रधानन्यायाधीश सूर्यकान्तले आफ्नो भनाइलाई गलत अर्थ लगाइएको दाबी गर्दै स्पष्टीकरण दिएका छन्। उनले आफ्नो टिप्पणी सम्पूर्ण युवाप्रति नभई नक्कली प्रमाणपत्रका आधारमा कानुनी क्षेत्रमा प्रवेश गर्न खोज्ने व्यक्तिहरूप्रति लक्षित रहेको बताएका थिए।

पछि उनले भारतीय युवालाई ‘विकसित भारतका आधारस्तम्भ’को संज्ञा दिँदै आफ्नो अभिव्यक्तिप्रति स्पष्टिकरण दिनुपरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com