काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह संसद्प्रति गैरजिम्मेवार बनेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमाले सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गर्दै जनताको मतको अपमान गरेको टिप्पणी गरे।

प्रधानमन्त्री विधेयक प्रस्तुत गर्नसमेत संसद्मा उपस्थित नभएको भन्दै विपक्षी दलहरूले बैठकमा आपत्ति जनाएका थिए। त्यसक्रममा बोल्दै सांसद महरले संविधानको धारा ७६ को उपधारा १० अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था भए पनि प्रधानमन्त्री त्यसप्रति गम्भीर नदेखिएको आरोप लगाए।

advertisement

उनले प्रधानमन्त्रीको व्यवहारले सदनलाई छल्ने, अपमान गर्ने र जनप्रतिनिधिमार्फत व्यक्त जनमतलाई कमजोर बनाउने संकेत गरेको बताए। ‘यो नियमावलीको मात्र विषय होइन, सरकारको नियतसँग जोडिएको प्रश्न हो,’ महरले भने, ‘प्रधानमन्त्रीले सदन र जनताको आवाजलाई बेवास्ता गर्ने शैली अपनाउनुभएको छ।’

महरले प्रतिनिधिसभा नियमावलीअन्तर्गत रहेका व्यवस्थासमेत प्रधानमन्त्रीले पालन नगरेको आरोप लगाए। उनका अनुसार संसद्मा उपस्थित भई जवाफदेही बन्नुपर्ने दायित्वबाट प्रधानमन्त्री पन्छिन खोजिरहेका छन्।

प्रधानमन्त्रीको यस्तो व्यवहारले कार्यकारी नेतृत्वलाई थप स्वेच्छाचारी र निरंकुश दिशातर्फ धकेल्ने खतरा रहेको एमालेको भनाइ छ। विपक्षी दलहरूले संसद्को गरिमा कायम राख्न प्रधानमन्त्रीलाई सदनप्रति उत्तरदायी बनाउन सभामुखको ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com