काठमाडौं । नेकपा एमालेले पार्टीको आन्तरिक संरचना सुदृढ गर्न नेताहरूको कार्यविभाजनसहित विभागीय प्रमुख र जनसंगठन इन्चार्ज तोक्ने तयारी गरेको छ। यससम्बन्धी प्रस्ताव शुक्रबार बस्ने सचिवालय बैठकमा पेश हुने भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ ४ गते बसेको बैठकमै विभागीय जिम्मेवारी बाँडफाँटको प्रारम्भिक खाका प्रस्तुत गरेका थिए। सोही प्रस्तावलाई सचिवालय बैठकबाट अन्तिम रूप दिने तयारी गरिएको एमाले स्रोतले जनाएको छ।

advertisement

प्रस्तावअनुसार उपमहासचिव प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिने तयारी छ भने सचिव पद्मा अर्याललाई संसदीय मामिला विभाग प्रमुख बनाउने प्रस्ताव गरिएको छ। त्यस्तै हिक्मत कार्कीलाई राष्ट्रिय हित संरक्षण विभाग, भानुभक्त ढकाललाई संगठन विभाग र डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने प्रस्ताव छ।

शेरबहादुर तामाङलाई पार्टी स्कुल विभाग प्रमुख बनाउने तयारी गरिएको छ भने आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ। इन्द्र भण्डारीलाई पार्टीसम्बद्ध प्रतिष्ठानको इन्चार्ज बनाउने प्रस्ताव छ।

त्यसैगरी कल्पना चापागाईंलाई समाज कल्याण तथा समाजसेवा विभाग, कर्ण थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, क्रान्ति बुर्लाकोटीलाई युवा तथा खेलकुद विभाग तथा गणेश ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन विभाग प्रमुख बनाउने तयारी गरिएको छ।

खेम लोहनीलाई सहकारी तथा गरिबी निवारण विभाग, गोकुल बाँस्कोटालाई भूमि व्यवस्था विभाग तथा ज्वाला साहलाई कृषि तथा पशुपन्छी विकास विभागको जिम्मेवारी प्रस्ताव गरिएको छ। ठाकुर गैरेलाई खानेपानी तथा सरसफाइ विभाग र देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख बनाउने तयारी छ।

यसैगरी बिनाकुमार श्रेष्ठलाई पुस्तकालय तथा अभिलेख विभाग, भारती पाठकलाई वन तथा वातावरण विभाग, डा. भीष्म अधिकारीलाई वित्त तथा कोष व्यवस्थापन विभाग तथा रचना खड्कालाई विज्ञान तथा प्रविधि विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

रामकुमारी झाँक्रीलाई सहरी विकास विभाग, विन्दा पाण्डेलाई श्रम तथा रोजगार विभाग तथा विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र प्रमुख बनाउने तयारी गरिएको छ। सुशीला नेपाललाई सामाजिक सेवा विभाग तथा हेमराज राईलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुख बनाउने प्रस्ताव पनि रहेको छ।

एमालेले जनसंगठनतर्फ पनि विभिन्न नेताहरूलाई इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ। प्रस्तावअनुसार क्षितिज थेवे युवा फाँट, रश्मी आचार्य विद्यार्थी फाँट तथा हरिप्रसाद घिमिरे भारत प्रवास इन्चार्जका रूपमा रहनेछन्।

त्यसैगरी गिरीधारीलाल न्यौपानेलाई किसान फाँट, टुकाभद्रा हमाललाई महिला फाँट तथा रविन्द्र अधिकारीलाई प्रवासी नेपाली मञ्च मध्यपूर्व इन्चार्जको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ।

एमालेले संगठनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कार्यविभाजनमार्फत नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्न लागेको जनाएको छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com