काठमाडौं। फिरन्ते जीवनशैलीका लागि परिचित राउटे समुदाय सुर्खेतको गुर्भाकोटबाट सल्यानतिर बसाइँ सर्ने तयारीमा जुटेको छ।
केही समयदेखि गुर्भाकोट क्षेत्रमा बसोबास गर्दै आएका राउटेहरू अब नयाँ स्थानतर्फ सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्।
राउटे समुदाय परम्परादेखि नै घुमन्ते जीवन बिताउँदै आएको समुदाय हो।
उनीहरू निश्चित समय एक ठाउँमा बसेपछि अर्को स्थानतर्फ सर्ने परम्परा अनुसार अहिले पनि बस्ती स्थानान्तरणको तयारीमा जुटेका हुन्।
मुखिया शाहीका अनुसार राउटे समुदायले आफूहरू बसाइँ सर्ने निश्चित स्थानबारे बाहिरी समुदायलाई जानकारी दिने चलन छैन।
त्यसैले उनीहरू सल्यानको कुन क्षेत्रमा बसाइँ सर्दैछन् भन्ने विषय खुलाइएको छैन।
हाल भने सम्पूर्ण बस्ती सार्ने तयारी तीव्र रूपमा भइरहेको उनले बताए।
बसाइँ सर्नका लागि आवश्यक सामग्री व्यवस्थापन गर्नुका साथै सामान ओसारपसार गर्न सवारी साधनको व्यवस्थापनको प्रतीक्षा भइरहेको जनाइएको छ।
बिहीबार राउटे बस्ती पुग्दा अधिकांश परिवार आफ्ना सामग्री मिलाउने, घरायसी सामान संकलन गर्ने तथा यात्राको तयारीमा व्यस्त देखिएका थिए।
परम्परागत जीवनशैलीलाई निरन्तरता दिँदै आएका राउटेहरू अझै पनि जंगल र प्राकृतिक वातावरणसँग नजिक रहेर जीवनयापन गर्दै आएका छन्।
नेपालको लोपोन्मुख आदिवासी समुदायमध्ये पर्ने राउटेहरू स्थायी बसोबासतर्फ आकर्षित नभई आफ्नो मौलिक घुमन्ते संस्कृति जोगाइरहेका छन्।
उनीहरूको बसाइँसराइसँगै स्थानीय स्तरमा पनि चासो र उत्सुकता बढ्ने गरेको छ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया