काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा शानदार प्रदर्शन गर्दै ७ विकेटको सहज जित निकालेको छ।
यससँगै नेपालले दुई खेलको टी–२० शृङ्खला २–० ले आफ्नो पक्षमा पार्न सफल भएको छ।
क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभल मैदानमा शुक्रबार भएको खेलमा मलेसियाले दिएको ८३ रनको सामान्य लक्ष्य नेपालले १६ ओभरमै ३ विकेट गुमाएर पूरा गरेको हो।
नेपालले २४ बल अगावै लक्ष्य भेट्टाउँदै घरेलु टोलीमाथि एकपक्षीय जित दर्ता गर्यो।
नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गरिन्।
उनले अविजित ३९ रन बनाउँदै टोलीलाई सहज जिततर्फ डोर्याइन्।
३७ बल खेलेकी उनले ३ चौका प्रहार गरिन्। कविता कुँवरले पनि नटआउट १९ रन जोड्दै महत्वपूर्ण साथ दिइन्।
त्यस्तै, सोनी पाख्रिनले १२ रन बनाउँदा पूजा महतोले ८ रनको योगदान दिइन्।
कविता जोशी भने खाता खोल्न नसकी आउट भइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो।
मलेसियाका लागि आइना हामिजा हासिमले सर्वाधिक १७ रन बनाइन् भने धनसुरी मुहुनानले १५ र नुरु आरियाना नात्सयाले १३ रन जोडिन्।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मलेसियालाई कम स्कोरमा रोक्न नेपाली बलरहरूले अनुशासित प्रदर्शन गरे।
कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले समान २–२ विकेट लिए भने पूजा महतो र सीता राना मगरले १–१ विकेट हात पारे।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले संघर्षपूर्ण २ विकेटको जित निकालेको थियो।
दोस्रो खेलमा भने नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियामाथि पूर्ण दबाब बनाएको देखियो।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया