काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राई ले सुकुम्बासी बस्तीमा सरकारले गरिरहेको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै गरिब तथा निमुखा जनतालाई थप पीडा नदिन सरकारलाई सचेत गराएकी छन्।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद राईले सुकुम्बासी बस्ती हटाउने नाममा सरकारले नागरिकको बाँच्न पाउने अधिकारसमेत हनन् गरेको आरोप लगाइन्।

advertisement

उनले सुकुम्बासी बस्तीबाट विस्थापित भएका नागरिकहरू थप समस्यामा परेको उल्लेख गर्दै उनीहरूको गाँस, बास र सुरक्षाको व्यवस्थामा सरकार गम्भीर बन्नुपर्ने बताइन्।

सांसद राईले सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व रहेको भन्दै गरिब समुदायमाथि अन्यायपूर्ण व्यवहार गर्न नहुने धारणा राखिन्।

उनले भनिन्, “सरकार गरिब निमुखालाई पनि बाँच्न देऊ। तपाईंसँग धेरै जनताले ठूलो अपेक्षा राखेका छन्। यो दुर्दशा हेर्नका लागि सरकार बनेको होइन, सरकारले यो कुरा हेक्का राख्नुपर्छ।”

राईले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको कार्यले कतिपय नागरिकको जीवन नै संकटमा परेको दाबी गरिन्। उनले विस्थापित परिवारको संरक्षण र पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिन्।

यसैगरी सांसद राईले हुम्ला र बाजुरामा सीमा विवादका कारण भएको कुटपिटको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्। उनले यस्ता विवादले स्थानीय स्तरमा तनाव बढाउने भएकाले समयमै समाधानका लागि पहल गर्न सरकारलाई आग्रह गरिन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com