काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार उक्त रिट खारेज गर्दै अनुसन्धान प्रक्रिया थपिएको म्यादभित्र पूरा गर्न निर्देशनात्मक आदेश (परमादेश) जारी गरेको हो ।

advertisement

अदालतले चार दिनभित्र अनुसन्धानका सम्पूर्ण कार्य सम्पन्न गरी उनलाई जिल्ला अदालत पर्सामा पेस गर्न जिल्ला प्रहरी कार्यालय पर्साको नाममा आदेश दिएको छ । सो जानकारी रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दिएका हुन् ।

यसअघि दुर्गा प्रसाईँलाई गत सोमबार, जेठ ४ गते राति वीरगञ्जबाट पक्राउ गरिएको थियो । पर्सा जिल्ला अदालतले उनलाई पछिल्लो पटक थप चार दिनको म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रहरीका अनुसार उनीमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूर सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रहरीले प्रसाईँका अभिव्यक्तिहरू सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक शिष्टाचारविपरीत रहेको, घृणा तथा द्वेष फैलाउने खालको भएको, साथै जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्‍याउने र सरकारप्रति अवहेलना सिर्जना गर्ने प्रकृतिको भएको दाबी गरेको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com