काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले भदौ २४ गते भएको घटनाको ढाकछोप गर्ने सरकारको प्रयास कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा बोल्दै थापाले सरकारले आफैले गरेको प्रतिबद्धताअनुसार भदौ २४ गते भएको विध्वंसको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरे । उनले घटनाको वास्तविकता बाहिर ल्याउन ढिलाइ गर्न नहुने समेत बताए ।
गगन थापा ले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग को प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने जिकिर गरे । प्रतिवेदनअनुसार दोषीमाथि कारबाही हुनुपर्ने उनको भनाइ थियो । मानव अधिकार आयोगको प्रतिवेदन रोक्न दबाब दिइएको चर्चा सुनिएको उल्लेख गर्दै उनले यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
एक प्रश्नको जवाफमा उनले सरकार गठन भएयता कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको आरोप लगाए । लोकतान्त्रिक प्रणालीमा यस्ता गतिविधि स्वीकार्य नहुने बताउँदै उनले सरकारका गलत क्रियाकलाप रोक्न आफूहरू निरन्तर सक्रिय रहने बताए ।
त्यस्तै, थापाले मुलुकको अवस्था र गम्भीरतालाई ध्यानमा राख्दै पार्टीभित्रका असहमति र विमतिलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको बताए । उनले केन्द्रीय समिति बाहिर रहेका सबैलाई समेटेर अघि बढ्न आफू सकारात्मक रहेको उल्लेख गर्दै पार्टी विधि र विधानबाहिर गएर काम नगर्न नेताकार्यकर्तालाई आग्रह गरे ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया