एजेन्सी । उत्तरी चीनको सान्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण ग्यास विष्फोटमा कम्तीमा ९० जना श्रमिकको ज्यान गएको छ। शुक्रबार साँझ तोङझाउ ग्रुपद्वारा सञ्चालित ‘लिउसेन्यु कोइला खानी’ मा दुर्घटना भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयअनुसार साँझ ७:२९ बजे भएको विष्फोटका बेला खानीभित्र २४७ जना श्रमिक कार्यरत रहेका थिए। दुर्घटनापछि ठूलो संख्यामा उद्धार टोली घटनास्थलमा परिचालित गरिएको छ। घाइते भएका १०० भन्दा बढी श्रमिकलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ भने खानीभित्र अझै फसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

advertisement

घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनपिङले घाइतेहरूको प्रभावकारी उपचार र जीवित व्यक्तिको उद्धारमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। उनले दुर्घटनाको कारणबारे तत्काल छानबिन गर्न तथा जिम्मेवारमाथि कडा कारबाही अघि बढाउन पनि सरकारलाई आदेश दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार खानी सञ्चालनमा संलग्न केही अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यद्यपि विष्फोटको वास्तविक कारण अझै सार्वजनिक गरिएको छैन। प्रारम्भिक अनुसन्धानमा खानीभित्र अत्यधिक मात्रामा विषाक्त तथा गन्धहीन ग्यास कार्बन मोनोअक्साइड जमेको संकेत देखिएको जनाइएको छ।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले उद्धार अभियानमा सहयोग पुर्‍याउन ६ वटा विशेष टोलीका ३४५ जना उद्धारकर्मी परिचालन गरेको जनाएको छ। दुर्घटना भएको सान्सी प्रान्त चीनको सबैभन्दा ठूलो कोइला उत्पादन केन्द्रमध्ये एक मानिन्छ।

चीनमा विगतमा कोइला खानी दुर्घटना बारम्बार हुने गरेका थिए। विशेषगरी सन् २००० को दशकको सुरुवातमा सुरक्षा मापदण्ड कमजोर हुँदा यस्ता घटनामा ठूलो मानवीय क्षति हुने गरेको थियो। पछिल्ला वर्षहरूमा सुरक्षा प्रणालीमा सुधार गरिए पनि जोखिमपूर्ण खानी क्षेत्रमा दुर्घटना पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

यसअघि सन् २०२३ मा भित्री मङ्गोलियाको एक खानी भासिँदा ५३ जनाको मृत्यु भएको थियो भने सन् २००९ मा हेइलोङजियाङ प्रान्तको खानी विष्फोटमा १०० भन्दा बढी श्रमिकले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com