पोखरा । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउन गम्भीर छलफल, सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।

पोखरामा आयोजित नेता–कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो र एकताबद्ध बनाउन वैचारिक स्पष्टता तथा साझा समझदारी अपरिहार्य रहेको उल्लेख गरे। पार्टीभित्र देखिएका गुट–उपगुट अन्त्य गर्दै साझा उद्देश्यका साथ अघि बढ्नुपर्नेमा उनले विशेष जोड दिए।

advertisement

उनले पार्टी एकजुट हुन नसके नेपाली कांग्रेस मात्र होइन, मुलुककै राजनीतिक भविष्य प्रभावित हुन सक्ने चेतावनी दिए। ‘कांग्रेसभित्रको विभाजन अन्त्य गरेर संगठनलाई एक ढिक्का बनाउन सके मात्रै देशले सही दिशा पाउँछ,’ उनले बताए।

डा.शशांक कोइरालाले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि शीर्ष नेताबीच निरन्तर संवाद र सहमतिको संस्कृति विकास गर्नुपर्ने धारणा राखे। महाधिवेशन वा अन्य महत्त्वपूर्ण निर्णयका क्रममा सबै पक्षलाई समेटेर समिति निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

‘सबैलाई सम्मान र सहभागिता दिने अभ्यासले मात्रै कांग्रेसलाई थप सशक्त बनाउँछ,’ उनले भने, ‘नेतृत्वले कुनै समूह वा व्यक्तिलाई अलग नगरी समान अवसर प्रदान गर्नुपर्छ।’

उनले पार्टीभित्रको गुटबन्दी त्यागेर संगठनलाई सर्वोपरि ठान्ने संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिए।

फरक प्रसङ्गमा उनले वर्तमान अवस्थामा संविधानको रक्षा र लोकतान्त्रिक मूल्यको संरक्षण कांग्रेसको प्रमुख जिम्मेवारी भएको बताए। लामो राजनीतिक सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन तथा संरक्षणमा पार्टी दृढतापूर्वक लाग्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com