काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी विचार निर्माण गर्ने र राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएकी छन् ।
मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी सामान्य राजनीतिक नेता मात्र नभई चिन्तक, सिद्धान्तकार र दूरदर्शी विचारक भएको उल्लेख गरिन् ।
उनले भनिन्, “मदन भण्डारीले आफ्नो समयका चुनौतीहरूलाई कसरी आत्मसात् गर्नुभयो, तिनको विश्लेषण र व्याख्या गर्नुभयो तथा समाधानका उपायहरू जनतासमक्ष कसरी प्रस्तुत गर्नुभयो भन्ने जीवन्त अभिलेख यो पुस्तकमा समेटिएको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी जनताको आकांक्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ता भएको बताउँदै उहाँ सञ्चारको शक्ति, जनमतको महत्व र विचारको प्रभावलाई गहिरोसँग बुझ्ने मिडियामैत्री राजनीतिज्ञ भएको पनि बताइन् ।
“उहाँ राजनीतिक आन्दोलनलाई सुदृढ र सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक तथा विचारक हुनुहुन्थ्यो,” उनले थपिन् ।
कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीको विचार र योगदानलाई नयाँ पुस्ताले बुझ्न र अंगाल्नुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया