काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वबाट पछि हट्ने पक्षमा आफू नरहेको स्पष्ट संकेत दिएका छन्। नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा अधिकांश नेताहरूले पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको विषय उठाएपछि ओलीले आफू सहज रूपमा मार्गप्रशस्त नगर्ने बताएका हुन्।
शुक्रबारदेखि सुरु भएको सचिवालय बैठकमा शीर्ष नेताहरूले क्रमशः आफ्नो धारणा राखिरहेका छन्। पहिलो दिन पाँच उपाध्यक्षले बोलेका थिए भने शनिबार महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र पाँच सचिवले विचार राखेका छन्।
बैठकमा उपमहासचिव योगेश भट्टराईले खुलेरै नेतृत्व हस्तान्तरणको आवश्यकता औँल्याउँदै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। महासचिव पोखरेलले पनि प्रत्यक्ष रूपमा नभए पनि वर्तमान शैलीमा पार्टी अघि बढ्न कठिन हुने संकेत गरेका बताइएको छ।
बैठकमा सहभागी नेताहरूका अनुसार छलफलका क्रममा ओलीले पटक–पटक नेताहरूलाई रोकेर आफ्ना धारणा राख्दै आएका छन्। उनले बैठकलाई ‘दिशानिर्देशात्मक’ ढंगले अघि बढाएको नेताहरूको भनाइ छ।
पार्टीभित्र रूपान्तरण, नेतृत्व परिवर्तन र राजीनामाबारे दबाब बढिरहँदा ओलीले भने आफू त्यस्तो मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। एक नेताका अनुसार बैठकमा ओलीले भने, ‘मलाई यसरी सम्झाएर सकिँदैन, म यसरी छाड्नेवाला छैन।’
सचिवालय बैठकमा नेतृत्व परिवर्तनको आवाज उठिरहे पनि ओलीले केन्द्रीय कमिटीमा आफ्नो पकड अझै बलियो रहेको दाबी गरेका छन्। उनले अन्तिम निर्णय केन्द्रीय कमिटी बैठकमार्फत हुने संकेतसमेत गरेका छन्।
हालसम्म चार सचिवले धारणा राख्न बाँकी रहेको एमाले नेताहरूले बताएका छन्। उनीहरूको धारणा सकिएपछि प्रस्तावित एजेन्डामाथि थप छलफल हुँदै आवश्यक निर्णय प्रक्रिया अघि बढ्ने जनाइएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया