काठमाडौं। तनहुँको दमौलीस्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ निषेध को निर्णयविरुद्ध स्थानीय व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। व्यास नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै नयाँ व्यवस्था लागू गरेपछि व्यवसायीहरूले पसल बन्द गरेर विरोध जनाएका हुन्।

नगरपालिकाले सफा सडक क्षेत्रमा सवारी साधन पार्किङ गर्न पूर्ण निषेध गरेको छ भने केही स्थानमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था समेत लागू गरेको जनाएको छ। नगरपालिकाका अनुसार बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङका कारण बजार क्षेत्रमा ट्राफिक समस्या बढ्दै गएको भन्दै नयाँ नियम कार्यान्वयनमा ल्याइएको हो।

तर स्थानीय व्यवसायीहरूले पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने बताएका छन्। ग्राहकहरूले सवारी साधन राख्ने ठाउँ नपाउँदा बजारमा आवतजावत घट्ने र व्यवसाय संकटमा पर्ने उनीहरूको भनाइ छ।
निर्णयप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले पसल बन्द गरी प्रदर्शन गरेका छन्। उनीहरूले पार्किङ व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था नगरी निषेध मात्र लागू गर्नु उचित नभएको बताएका छन्। साथै निर्णय तत्काल पुनर्विचार गर्न नगरपालिकासँग माग गरेका छन्।
यस विषयमा व्यवसायी र नगरपालिकाबीच थप छलफल हुने तयारी भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया