काठमाडौं। नेपाल एयरलाइन्स को सञ्चालक सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख ३१ गते पाँच जनालाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया पारदर्शी नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको हो।
मन्त्रालयले कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौंका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक सदस्यमा नियुक्त गरेको थियो। विभागीय मन्त्री खडक राज पौडेल (गनेस)को मन्त्रीस्तरीय निर्णयबाट गरिएको नियुक्तिमा चलखेल भएको आरोप लगाइएको छ।
उजुरीमा प्रतिस्पर्धामा २७ जना सहभागी रहेकामा खुला प्रतिस्पर्धाबाट प्राप्त अंकलाई बेवास्ता गर्दै मन्त्री पौडेलले आफू निकट व्यक्तिलाई छनोट गरेको दाबी गरिएको छ। मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता, अनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा छनोट गरिएको उल्लेख भए पनि वास्तविक मूल्यांकन प्रक्रिया अपारदर्शी रहेको आरोप उजुरीकर्ताको छ।
२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि आवेदन आह्वान गरिएको थियो। आवेदन दिएका २४ जनालाई वैशाख २७ गते अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणमा सहभागी गराइएको स्रोतले जनाएको छ। उजुरीमा प्रस्तुतीकरणमा कम अंक ल्याएका व्यक्तिलाई नै प्रभाव र पहुँचका आधारमा नियुक्त गरिएको उल्लेख गरिएको छ।
नेपाल वायुसेवा निगम ऐन, २०१९ तथा नियमावलीअनुसार सञ्चालक नियुक्तिमा शैक्षिक योग्यताका लागि ४, अनुभवका लागि ४, व्यावसायिक कार्ययोजनाका लागि १५, प्रस्तुतीकरणका लागि १५ र अन्तर्वार्ताका लागि १० अंकभार तोकिएको छ। तर प्राप्तांक सार्वजनिक नगरी नियुक्ति गरिएको भन्दै सुशासनको मर्ममाथि प्रश्न उठाइएको छ।
उजुरीमा वर्तमान सरकारले जेनजी आन्दोलनपछि सुशासनको प्रतिबद्धता व्यक्त गरे पनि मन्त्रालयले चलखेलका आधारमा नियुक्ति गरेर त्यसको विपरीत काम गरेको आरोप लगाइएको छ। साथै सम्बन्धित उम्मेदवारहरूको विस्तृत प्राप्तांक सार्वजनिक गर्न र निष्पक्ष छानबिनपछि मात्रै नियुक्ति प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीसमक्ष माग गरिएको छ।
स्रोतका अनुसार यस विषयमा प्रधानमन्त्री कार्यालयमा ब्रिफिङ भइसकेको छ भने आन्तरिक छानबिनसमेत सुरु भएको दाबी गरिएको छ।
यता मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भने नियुक्ति पूर्णतः योग्यता र मेरिटका आधारमा गरिएको दाबी गरेका छन्। उनले कानुनी रूपमा मन्त्रीले सिधै बोर्ड सदस्य नियुक्त गर्न सक्ने व्यवस्था भए पनि यसपटक खुला प्रतिस्पर्धामार्फत पारदर्शी प्रक्रिया अपनाइएको बताए।
उनका अनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना विज्ञ टोलीमार्फत गोप्य रूपमा मूल्यांकन गरिएको थियो। “विज्ञ टोलीले उत्कृष्ट ठहर गरेका उम्मेदवारलाई मेरिटका आधारमा नियुक्त गरिएको हो,” उनले भने।
प्रधानमन्त्री कार्यालयलगायत विभिन्न निकायमा उजुरी परेको विषयमा प्रतिक्रिया दिँदै आचार्यले नियुक्ति प्रक्रिया पूर्णतः विधिसम्मत, पारदर्शी र निष्पक्ष रहेको जिकिर गरे।
मन्त्रालयले नेपाल एयरलाइन्सको खस्कँदो साख जोगाउन र संस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सक्षम र योग्य व्यक्तिहरूलाई सञ्चालकमा नियुक्त गरिएको दाबी गरेको छ।



प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया