काठमाडौं। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छिट्टै छिमेकी मुलुक भारतको औपचारिक भ्रमण मा जाने भएका छन् ।

भारत सरकारको औपचारिक निमन्त्रणामा उनको यो भ्रमण हुने रास्वपा उच्च स्रोतले पुष्टि गरेको छ ।

advertisement

आगामी जेठ १८ गतेको आसपास नयाँ दिल्ली प्रस्थान गर्ने तयारीमा रहेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नयाँ सरकार गठन भएपछि नेपाल-भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमणहरू ठप्प प्रायः रहेको अवस्थामा सत्ता साझेदार दलका प्रमुखको यो भ्रमणलाई कूटनीतिक वृत्तमा निकै महत्वपूर्ण मानिएको छ ।

भारतीय विदेश मन्त्रालयले लामिछानेलाई दुई दिने औपचारिक भ्रमणको निमन्त्रणा पठाएको हो ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमण अन्तिम समयमा स्थगित भएको थियो भने भारतीय विदेश सचिवको नेपाल भ्रमण पनि रद्द भएको थियो ।

विशेषगरी प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाटै गराउने भारतीय पक्षको चाहना रहे पनि शाहले परम्परागत कूटनीतिभन्दा राष्ट्रिय हित र आवश्यकताका आधारमा मात्र भ्रमण गर्ने अडान लिएका कारण उच्चस्तरीय संवादमा केही ढिलाइ भएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री शाहसँग प्रत्यक्ष संवाद सहज नभएपछि भारतले रास्वपा सभापति लामिछानेमार्फत नेपालको नयाँ राजनीतिक नेतृत्वसँग संवादको ढोका खोल्न खोजेको देखिन्छ ।

दुई देशबीच रणनीतिक असमझदारी बढ्दै गएको र उच्चस्तरीय संवादहीनता रहेको बेला लामिछानेको यो भ्रमणले आपसी सम्बन्धलाई सामान्य बनाउन र आगामी कूटनीतिक यात्रा सहज बनाउन कस्तो भूमिका खेल्छ भन्नेमा सबैको चासो रहेको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com