काठमाडौं। नेपालको तीन दिने भ्रमणमा रहेकी संयुक्त अधिराज्यकी ‘इन्डो–प्यासिफिक’ तथा समानतासम्बन्धी मन्त्री सीमा मल्होत्रा ले नेपालको शैक्षिक गुणस्तर अभिवृद्धि र प्राविधिक शिक्षाको विस्तारमा बेलायतले सहकार्य गर्ने बताएकी छन्।
‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफल कार्यक्रममा बोल्दै मन्त्री मल्होत्राले नेपाल–बेलायत सम्बन्धलाई थप मजबुत बनाउन शिक्षालाई प्राथमिकतामा राखिएको बताइन्। उनले मानवीय पुँजी विकासका लागि बेलायतले लगानी विस्तार गर्ने जानकारी दिइन्।
उनले शिक्षामा पहुँच विस्तारसँगै रोजगारीमुखी प्रणाली विकास आवश्यक रहेको उल्लेख गर्दै शिक्षा र अर्थतन्त्रबीचको अन्तरसम्बन्धलाई बलियो बनाउनुपर्ने धारणा राखिन्। “बेलायतको मुख्य प्राथमिकतामध्ये एक शैक्षिक विकास हो। शिक्षामार्फत युवालाई अवसर सृजनामा कसरी जोड्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित छौँ,” उनले भनिन्।
उनका अनुसार नेपालमा सञ्चालनमा रहेका बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले दुई देशबीचको शैक्षिक सहकार्यलाई अझ मजबुत बनाएका छन्। नेपालको नयाँ सरकारका प्राथमिकताअनुसार शिक्षाका अन्य क्षेत्रमा समेत सहकार्य विस्तार गर्न बेलायत तयार रहेको उनले स्पष्ट पारिन्।
भ्रमणका क्रममा मन्त्री मल्होत्राले अर्थमन्त्री डा. स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतसँग भेटवार्ता गरेकी थिइन्। नेपालका लागि बेलायतका राजदूत रब फेन ले दिगो लगानी र बहुक्षेत्रीय सहकार्यका विषयमा छलफल भएको जानकारी दिए।
बेलायत सरकारले दीर्घकालीन साझेदारीको अवधारणाअनुसार आधिकारिक विकास सहायता (ओडिए)मार्फत अन्तर्राष्ट्रिय विकासलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समावेशिता, प्राविधिक शिक्षा र सुशासनजस्ता क्षेत्रमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजिरहेको बताए।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, बेलायती गुणस्तर मापन प्रणाली विकास तथा अनुसन्धानमुखी उच्च शिक्षामा सहकार्य आवश्यक रहेको बताए।
नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका महासचिव डा. उद्धव खड्काले गत आर्थिक वर्षमा उच्च शिक्षा अध्ययनका लागि नेपालबाट २३ हजार विद्यार्थी बेलायत गएको जानकारी दिए।
छलफलमा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट का प्रबन्ध निर्देशक आभा शाह, जेम्स कलेज का प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल–बेलायत शैक्षिक सहकार्यलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया