चितवन । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजी तथा बढ्दो महँगी नियन्त्रणको माग गर्दै चितवनमा जेनजी युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। ‘गरिखान देउ’ अभियानअन्तर्गत आयोजित मोटरसाइकल धकेल्ने र्याली आइतबार भरतपुरमा भव्य रूपमा सम्पन्न भएको हो।

गरिखान देउ चितवन अध्यायका संयोजक विशु गुरुङ्गको नेतृत्व तथा जेनजी अभियन्ता मिरज ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न र्याली चौबिसकोठीबाट सुरु भई लायन्सचोक पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागी सयौं युवाहरूले मोटरसाइकल तथा स्कुटर नचलाई हातले धकेल्दै सरकारविरुद्ध सांकेतिक विरोध जनाएका थिए।

advertisement

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर मूल्यवृद्धि गरिरहेको भन्दै युवाहरूले ‘पेट्रोलियम पदार्थमा ६ कर माफ गर’, ‘महँगीको मारमा जनता’, ‘गरी खान देऊ’ लगायतका नारासहित प्रदर्शन गरेका थिए। सहभागीहरूले प्लेकार्ड र ब्यानर बोकेर सरकारलाई महँगी नियन्त्रण र कर घटाउन दबाब दिएका थिए।

प्रदर्शनकारीहरूले पेट्रोलियम पदार्थमा लगाइएका ६ प्रकारका कर तत्काल खारेज गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने तथा जनताको ढाड सेक्ने महँगीप्रति सरकार जवाफदेही बन्नुपर्ने माग गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक विशु गुरुङ्गले सरकारले निरन्तर करको भार थप्दै जनतालाई आर्थिक रूपमा थिचिरहेको आरोप लगाए। उनले नागरिकको दैनिकी कठिन बन्दै गएको उल्लेख गर्दै जनताको आवाज सरकारसम्म पुर्‍याउन सांकेतिक रूपमा मोटरसाइकल धकेल्ने र्याली आयोजना गरिएको बताए।

कोणसभामा जेनजी अभियन्ता डा. जगत बिक, सौरभ भण्डारीलगायत वक्ताहरूले युवाहरू विदेशिन बाध्य भइरहेको अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका थिए। उनीहरूले स्वदेशमै सम्मानजनक रोजगारी, सहज जीवनयापन र जनमुखी नीति आवश्यक रहेको बताए।

प्रदर्शनरत जेनजीहरुले माग पूरा नभए आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com