काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको शनिबार–आइतबार दुई दिन सार्वजनिक बिदाको निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा दुई दिन बिदा दिने व्यवस्था व्यवहारिक नभएको तथा यसले सेवाग्राहीलाई प्रत्यक्ष असर पारेको बताए ।
सांसद बुढाथोकीका अनुसार उक्त निर्णयपछि विद्यार्थीको पढाइ प्रभावित भएको, पाठ्यक्रम समयमा पूरा गर्न कठिनाइ बढेको तथा विद्यालय बाहिर अनावश्यक रूपमा समय बिताउने प्रवृत्ति बढ्न थालेको गुनासो व्यापक रूपमा आएको छ ।
उनले स्वास्थ्य क्षेत्रमा पनि दुई दिनको बिदाले समस्या निम्त्याएको उल्लेख गर्दै नागरिकले आकस्मिक सेवा पाउनसमेत कठिनाइ भोग्नुपरेको बताए । “शिक्षा र स्वास्थ्यजस्तो आधारभूत क्षेत्रमा यस्तो व्यवस्था लागू गर्नु उपयुक्त देखिएको छैन । सरकारले यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ,” उनले संसदमा भने ।
कृष्णहरि बुढाथोकीले गाउँका धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदै गएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । उनले साना विद्यालयहरू समायोजन गरी व्यवस्थित आवासीय विद्यालय सञ्चालन गर्न सके शिक्षाको गुणस्तर सुधार हुने धारणा राखे ।
सार्वजनिक विद्यालयको अवस्था सुधार गर्न समायोजन प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा र सेवा सुनिश्चित गर्न सरकारलाई आवश्यक पहल गर्न आग्रह गरे ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया