काठमाडौं। विश्व फेरि एकपटक महामारीको खतरा सामना गरिरहेको छ ।

अफ्रिकाको कंगो लोकतान्त्रिक गणतन्त्रमा इबोला भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ ।

advertisement

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

डब्ल्यूएचओका अनुसार कंगोको इतुरी प्रान्तमा ९०० भन्दा बढी संदिग्ध इबोला संक्रमणका केसहरू रिपोर्ट भएका छन्, जसमध्ये १०१ वटाको पुष्टि भइसकेको छ ।

संक्रमण सबैभन्दा बढी देखिएको रवामपारा र मोंगबवालु क्षेत्रमा उपचार केन्द्रहरूमा आगजनीका घटनाहरू समेत भएका छन् ।

स्थानीय समुदायहरूबाट बढ्दो विरोध र प्रदर्शनले महामारी नियन्त्रण प्रयासलाई थप चुनौतीपूर्ण बनाएको छ ।

जनताको आक्रोशको मुख्य कारण भने इबोलाका कारण मृत्यु भएकाहरूको अन्तिम संस्कारमा अपनाइएका कडा नियमहरू रहेका छन् ।

प्रशासनले संक्रमण फैलिन नदिन मृतकहरूको शव व्यवस्थापन आफैंले गर्ने गरेको छ ।

तर धेरै ठाउँमा लाश नभेटिने, परीक्षणमा त्रुटि हुने र रिपोर्ट ढिलो आउने जस्ता समस्याका कारण स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।

इबोला एक खतरनाक भाइरस हो जसले धेरैजसो अवस्थामा ज्यान लिन सक्छ ।

यो संक्रमित व्यक्तिको रगत, बान्ता, पसिना, विर्य जस्ता शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्छ ।

यसलाई ‘बन्डिबुग्यो भाइरस’ ले फैलाएको बताइएको छ र हालसम्म यसको कुनै खोप उपलब्ध छैन ।

रोगको सुरुवाती लक्षणहरू सामान्य फ्लु जस्तै हुन्छन् — उच्च ज्वरो, टाउको दुखाइ, मांसपेशी र जोर्नी दुखाइ, थकान र कमजोरी ।

पछि बान्ता, पखाला, पेट दुखाइ, घाँटी खसखस, आँखा र गिजाबाट रक्तस्राव, शरीरमा चोटपटक जस्ता दाग, सास फेर्न गाह्रो हुने र अङ्गहरू फेल हुने जस्ता गम्भीर लक्षण देखिन्छन् ।

संक्रमण भएको २ देखि २१ दिनमा लक्षण देखा पर्न सक्छन् ।

स्थानीय सरकारको असफलता, अन्तर्राष्ट्रिय सहायतामा भएको कटौती र परीक्षण प्रक्रियामा देखिएका कमजोरीले महामारी नियन्त्रणलाई थप कठिन बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले संक्रमण रोक्न सही सूचना प्रवाह, सामुदायिक सहभागिता र सावधानी अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com