काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाली जनताको दैनिक जीवन वास्तविक रूपमा सुधार्ने र देखिने परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज प्रधानमन्त्री कार्यालयमा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ तथा सदस्य राष्ट्रका राजदूतहरू र अन्य मुलुकका राजदूतहरूसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

advertisement

भेटका क्रममा प्रधानमन्त्री शाहले अहिलेको समय निकै महत्वपूर्ण रहेको र आफूहरूलाई दिइएको जिम्मेवारी राम्ररी बुझेको बताए ।

उनले भने, “नयाँ हुनु भनेको विगतलाई पूरै बिर्सिनु होइन । हाम्रो नीति स्पष्ट, स्थिर र विश्वसनीय बनाउँछौं ।

लोकतन्त्र र संविधानको रक्षा गर्दै राजनीतिक स्थिरता कायम गर्न हामी पूर्ण प्रतिबद्ध छौं ।”

प्रधानमन्त्री शाहले हालैको निर्वाचनले सुशासन र समावेशी विकासका लागि ठूलो जनादेश दिएको उल्लेख गरे ।

नयाँ सरकार बने पनि नीतिमा निरन्तरता रहने बताए । उनले सुशासन कायम गर्ने र अर्थतन्त्रलाई समावेशी बनाउने काममा सरकार लागिपरेको बताए ।

जनतालाई नयाँ अवसर दिने, ठूलो लगानी भित्र्याउने, नवप्रवर्तनलाई प्रोत्साहन दिने र दिगो विकास गर्नेमा आफ्नो सरकार केन्द्रित रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति लिने स्पष्ट पारे ।

उनले भने, “छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान र साझा समृद्धिमा आधारित हुनेछ ।”

उनले नेपालको विकासमा सहयोग गरिरहेका सबै देशहरूप्रति आभार व्यक्त गरे ।

व्यापार, लगानी, हरित ऊर्जा, पर्यटन र जलवायु क्षेत्रमा सहकार्य बढाउने प्रतिबद्धता जनाए ।

भेटमा युरोपेली राजदूतहरूले नेपालमा शान्तिपूर्ण निर्वाचन भएकोमा प्रशंसा गरेका थिए ।

उनीहरूले सुशासन र आर्थिक विकासमा नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री शाहका प्रेस सल्लाहकार दिपा दाहालका अनुसार भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com