काठमाडौं। प्रतिनिधिसभा बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूबीच तीव्र भनाभन र धकेलाधकेलको स्थिति उत्पन्न भएको छ ।
रास्वपा सांसद जगदीश खरेलले विपक्षी दलहरूको अवरोधलाई ‘तमासा’ को संज्ञा दिएपछि संसद् भवनभित्रै तनाव चर्किएको हो ।
पर्यटनसम्बन्धी विधेयकमाथिको छलफलका लागि रोस्ट्रममा पुगेका सांसद खरेलले विपक्षी दलहरूले दशकौँदेखि संसद्मा तमासा मञ्चन गर्दै आएको आरोप लगाएका थिए ।
पूर्व सञ्चारकर्मी समेत रहेका खरेलले विपक्षीहरूको विचारलाई पूरै बेवास्ता गर्दै आक्रामक शैलीमा सरकारले ल्याएका आठवटा अध्यादेशको बचाउ गरे ।
उनले विपक्षीको आवाज दबाउने गरी अभिव्यक्ति दिएपछि सदनको माहोल एकाएक तातेको थियो ।
सांसद खरेलले प्रतिपक्षले प्रधानमन्त्री खोज्ने बहानामा संसद् अवरुद्ध गरेर नाटक मञ्चन गरिरहेको बताएलगत्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ आक्रोशित बने ।
उनी आफ्नो आसनबाट उठेर रोस्ट्रमतर्फ औँला तेर्स्याउँदै उत्तेजित शैलीमा अगाडि बढेका थिए ।
सांसद केरुङ नियन्त्रणबाहिर जान थालेपछि कांग्रेसकी प्रमुख सचेतक बासना थापाले तत्कालै अघि बढेर उनलाई रोक्नुपरेको थियो ।
थापाले केरुङलाई सम्हाल्दै पुनः आसनतर्फ फर्काएकी थिइन् ।
विपक्षको चर्को विरोधका बाबजुद सांसद खरेलले आफ्नो आक्रामक सम्बोधनलाई निरन्तरता दिए ।
उनले भने, “अहिले थाहा भयो, सरकारलाई आठवटा अध्यादेश किन आवश्यक परेको रहेछ ।
तपाईंहरूले आधा शताब्दीदेखि अल्झिएको विधेयकको हलोलाई अब यसरी अड्काइराख्न मिल्दैन ।”
खरेलको यस्तो प्रस्तुतिले विपक्षी बेन्चका सांसदहरूलाई थप उत्तेजित बनाएको थियो ।
सदनभित्र सत्तापक्ष र प्रतिपक्षबीच तनाव उत्कर्षमा पुगेर स्थिति नियन्त्रणबाहिर जाने देखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
यो घटनाले संसद्को गरिमा र मर्यादा माथि प्रश्न उठाएको छ ।
संसद् बैठकमा पटक–पटक देखिने यस्ता घम्साघम्सी र उत्तेजनाले विधायिकाको कामकारबाही प्रभावित हुँदै आएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया