सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशका झण्डै १७ लाख नागरिकको विपद् बीमा गरेको छ ।
प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सामूहिक दुर्घटना बीमा कार्यक्रम लागू गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच एक वर्षका लागि बीमा सम्झौता भएको छ ।
यो कार्यक्रम ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ अनुसार सञ्चालन हुनेछ ।
कर्णाली प्रदेशका १६ लाख ८८ हजार चार सय १२ जना नागरिक यो बीमा योजनामा समेटिएका छन् ।
प्रतिव्यक्ति बीमाङ्क दुई लाख रुपैयाँ कायम गरिएको छ ।
प्रदेश सरकारले प्रतिव्यक्ति वार्षिक नौ रुपैयाँ ३३ पैसाका दरले बीमा शुल्क तिर्नेछ ।
यसका लागि प्रदेश सरकारले एक करोड ५७ लाख ५२ हजार नौ सय चार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको छ ।
प्राकृतिक विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारले बीमा दाबी गर्न पाउनेछन् ।
बीमा दाबीका लागि घटना भएको ३५ दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था छ ।
तोकिएको अवधिभित्र दाबी गर्न नसकिएमा ढिलाइको कारण खुलाएर १८० दिनभित्र सम्बन्धित कार्यालय, जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको सिफारिससहित दाबी गर्न सकिने प्रावधान राखिएको छ ।
यो योजनाअन्तर्गत कर्णाली प्रदेशका स्थायी बासिन्दा मात्र होइन, देशको जुनसुकै स्थानमा प्राकृतिक विपद्का कारण मृत्यु भएका कर्णालीका नागरिक र अन्य प्रदेशमा कार्यरत कर्णालीका नागरिक पनि समावेश छन् ।
हिमपात, असिना, हिमपहिरो, हिमताल विस्फोटन, भूकम्प, बाढी तथा जलमग्न, पहिरो, जमिन धसिने, डुबान, हावाहुरी, आँधीबेहरी, शीतलहर, तातो हावाको लहर, चट्याङ, आगलागी, डढेलो, जंगली जनावरको आक्रमण, भिरबाट लड्ने, ढुंगा खस्ने, खोला वा नदीमा डुब्ने वा बग्ने जस्ता प्राकृतिक विपद्बाट हुने मृत्युका घटनालाई यो बीमाले समेट्ने छ ।
यो कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र प्रभावित परिवारलाई राहत दिने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया