काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज (बुधबार) छुट्टाछुट्टै समयमा बस्ने भएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। साथै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।
आजै राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। साथै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बिहान बस्दैछ। बैठकमा किसानलाई रासायनिक मलको सहज तथा सुलभ आपूर्तिका विषयमा छलफल हुने भएको छ। साथै, रासायनिक मलको मौज्दात, वितरण प्रणाली र भावी योजनाबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड का पदाधिकारीसँग विस्तृत छलफल गरिने जनाइएको छ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया