एजेन्सी । लेबनानमा इजरायलले हवाई आक्रमण तीव्र बनाएको छ । दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा बुधबार गरिएको भीषण हवाई तथा रकेट आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये बालबालिकासमेत रहेका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हेजबुल्लाहविरुद्ध सैन्य कारबाही थप कडा बनाउन निर्देशन दिएको केही दिनमै आक्रमण तीव्र बनेको हो । इजरायली सेनाले १०० भन्दा बढी हेजबुल्लाहका पूर्वाधार, हतियार भण्डारण केन्द्र तथा लडाकु लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।
अमेरिकाको मध्यस्थतामा गत अप्रिलमा युद्धविराम भए पनि इजरायल र हेजबुल्लाहबीच निरन्तर तनाव कायम छ । दुवै पक्षबाट पटक–पटक युद्धविराम उल्लङ्घन भइरहेका कारण मध्यपूर्वमा जारी संकट झन् जटिल बन्दै गएको विश्लेषण गरिएको छ ।
इजरायली सेनाका अनुसार बुधबार बिहान उत्तरी इजरायलतर्फ लेबनानबाट एउटा प्रक्षेप्य प्रहार भएपछि साइरन बजाइएको थियो । उक्त प्रक्षेप्य खुला क्षेत्रमा खसेकाले कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमण विशेषगरी बेका उपत्यकाको मशघारा गाउँ र दक्षिणी लेबनानको बुर्ज अल–शामाली क्षेत्रमा केन्द्रित थियो । केही आक्रमण युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक ब्यूफोर्ट क्यासल आसपाससमेत भएका छन् ।
सोमबार साँझ अरब सलीम नगरमा भएको अर्को आक्रमणमा एक दम्पतीको मृत्यु भएको थियो भने कौथारियेत एल रेज गाउँमा थप दुई जनाले ज्यान गुमाएका थिए ।
रातभर चलेको आक्रमणका कारण मशघाराका धेरै घर ध्वस्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार भग्नावशेषबाट एक महिला र दुई बालबालिकासहित ११ जनाको शव निकालिएको छ भने १५ जना घाइते भएका छन् ।
लगातारको आक्रमणपछि मशघारा क्षेत्र प्रायः सुनसान बनेको छ । स्थानीय बासिन्दाले इजरायलले सर्वसाधारणलाई समेत निशाना बनाएको आरोप लगाएका छन् । गाउँका एक स्थानीय अधिकारी अहमदले गाउँका धेरै मानिस प्रतिरोधको पक्षमा रहे पनि इजरायलले सर्वसाधारणलाई समेत बाँकी नराखेको बताएका छन् ।
इजरायली सेनाले भने मशघारामा हेजबुल्लाहसँग सम्बन्धित पूर्वाधारमाथि आक्रमण गरिएको दाबी गर्दै केही लडाकु मारिएको जनाएको छ । साथै दक्षिणी लेबनानभर हेजबुल्लाहले प्रयोग गर्ने ९० भन्दा बढी हतियार भण्डारण केन्द्र, कमाण्ड सेन्टर तथा निगरानी चौकी ध्वस्त पारिएको पनि बताएको छ ।
हेजबुल्लाहले भने इजरायलले युद्धविराम तोडेकाले जवाफी कारबाहीस्वरूप उत्तरी इजरायलका तीन सैन्य ब्यारेक र एक सैनिक चौकीमा आक्रमण गरिएको जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली आक्रमणबाट कम्तीमा ३ हजार १८५ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया