काठमाडौं । दीपककुमार साह ले सरकारले नागरिकबाट युरोपको जस्तो कर उठाएर सोमालियाको जस्तो सुविधा दिएको भन्दै कटाक्ष गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै निवर्तमान श्रम तथा रोजगारमन्त्रीसमेत रहेका साहले कर र सेवासुविधाबीच सन्तुलन नभएको बताएका हुन् ।
उनले भने, “दुःखका साथ भन्नुपरेको छ, अहिलेको सरकारले ट्याक्स युरोपको जस्तो लिइरहेको छ, सुविधा भने सोमालियाको जस्तो दिँदै आएको छ ।”
दीपककुमार साह ले प्रजाको सुखमै सरकारको हित हुने उल्लेख गर्दै वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा लाग्दै आएको १ प्रतिशत करको सीमा बढाउन सरकारसँग माग गरे ।
५ लाखसम्मको वार्षिक कमाइमा १ प्रतिशत करको व्यवस्था छ । त्यसलाई बढाएर यही बजेटबाट १० देखि १२ लाखसम्म पुर्याउनुपर्छ, उनले भने ।
उनले पछिल्लो पाँच वर्षमा महँगी ३८ देखि ४० प्रतिशतसम्म बढेको तर तलब भने करिब १५ प्रतिशत मात्रै बढेकाले सरकारले त्यसअनुसार आर्थिक सन्तुलन मिलाउनुपर्ने बताए ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया