काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले नयाँ संसद् भवनमा प्रयोग भएका काठ र फर्निचरबारे सरकारसँग प्रश्न उठाएकी छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नयाँ संसद् भवनमा सभामुख र सांसदहरूले प्रयोग गर्ने कुर्सी कुन देशबाट आयात गरिएको काठबाट बनाइएको हो भनेर जानकारी मागिन् । अघिल्लो कार्यकालदेखि नै आफूले यस विषयमा उत्तर खोजिरहेको उल्लेख गर्दै उनले संसद्मा प्रश्न उठाएकी हुन् ।

advertisement

‘केही दिनपछि हामी नयाँ संसद् भवनमा जाँदैछौं । त्यहाँ सम्माननीय सभामुख र सांसदहरू बस्ने कुर्सी कुन देशको काठबाट बनाइएको हो ?’ उनले प्रश्न गरिन् ।

नेपालमा प्रशस्त काठ उपलब्ध हुँदाहुँदै पनि विदेशी काठमा निर्भर हुनुपरेको भन्दै उनले सरकारको नीतिमाथि आलोचना गरिन् । नेपाली काठको उचित उपयोग गर्न नसक्दा हरेक वर्ष अर्बौं रुपैयाँ बराबरका काठजन्य सामग्री विदेशबाट आयात भइरहेको उनको भनाइ थियो ।

महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदन उद्धृत गर्दै उनले स्वदेशी स्रोतको उपयोगमा सरकार गम्भीर नभएको टिप्पणी गरिन् । ‘नेपालको काठ निकाल्न फाइल अड्किन्छ, तर विदेशी काठ आयात गर्न सजिलै एलसी खुल्छ । यो कस्तो नीति हो ?’ उनले प्रश्न गरिन् ।

सांसद डाँगीले वन विनाशको पक्षमा आफू नरहेको स्पष्ट पार्दै उपलब्ध प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले संसद् भवन र सिंहदरबारबाटै नेपाली काठबाट बनेका फर्निचर प्रयोग गर्ने अभियान सुरु गर्न सरकारलाई आग्रह गरिन् । ‘परनिर्भरता अन्त्य गर्नुपर्छ । सुरुवात संसद् भवन र सिंहदरबारबाट गरौं, त्यसपछि देशभर नेपाली काठबाट बनेका फर्निचर प्रयोग गर्ने नीति लागू गरिनुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com