काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका नाममा भइरहेको आर्थिक संकलन कार्य तत्काल रोक्न अनुरोध गरेका छन् ।
बोनम्यारो सम्बन्धी समस्याका कारण हाल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार गराइरहेका न्यायाधीश श्रेष्ठले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले आफ्नो उपचारप्रति चासो, चिन्ता, स्वास्थ्यलाभको कामना र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।
न्यायाधीश श्रेष्ठले आफ्ना शुभेच्छुक तथा शुभचिन्तकहरूले उपचारको सन्दर्भमा स्वतःस्फूर्त रूपमा सहयोग जुटाउने उद्देश्यले रकम संकलन गर्न थालेको खबर पाएको उल्लेख गरेका छन् ।
यसैगरी, न्यायसेवा अधिकृत समाजले पनि न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई स्वेच्छिक रूपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको विषयमा आफूलाई जानकारी भएको बताएका छन् ।
आफ्नो उपचारका लागि विभिन्न क्षेत्रबाट भइरहेका यी प्रयासहरूप्रति सम्मान व्यक्त गर्दै न्यायाधीश श्रेष्ठले आफ्नो विनम्र अनुरोधलाई स्वीकार गरेर रकम संकलनको कार्य पूर्ण रूपमा स्थगित गरिदिन सरोकारवाला सबैसँग अपिल गरेका छन् ।
उनले आगामी दिनमा पनि यस किसिमका आर्थिक संकलनका गतिविधिहरू अगाडि नबढाइनेमा आफू पूर्ण रूपमा आशावादी रहेको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया