काठमाडौं । कमला पन्त ले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति अनुदार हुनु लज्जास्पद विषय भएको टिप्पणी गरेकी छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद पन्तले संसद्ले निर्माण गरेको सरकारले संसद्लाई नै उपेक्षा गर्नु लोकतान्त्रिक मूल्य र संसदीय अभ्यासविपरीत भएको बताइन् । उनले सरकार संसद्प्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सत्तारूढ दल र स्वयं प्रधानमन्त्री यस विषयमा संवेदनशील हुनुपर्ने धारणा राखिन् ।

advertisement

उनले प्रधानमन्त्री व्यक्ति मात्रै नभई एउटा संस्थाको प्रतिनिधित्व गर्ने पद भएकाले त्यसको गरिमा जोगाउन संसद्प्रति उत्तरदायी बन्न आवश्यक रहेको बताइन् । संसद्ले विश्वास गरेर सरकार गठन गर्ने तर त्यही संसद्लाई बेवास्ता गर्ने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो ।

बैठकमा बोल्दै उनले भनिन्, “संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ? यो उपेक्षा किन भइरहेको होला भन्ने विषयमा सत्तारूढ दल र स्वयं प्रधानमन्त्रीले गम्भीर रूपमा सोच्नुपर्छ । को आयो, को गयो भन्ने कुरासँग हाम्रो सरोकार छैन । को व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ भन्ने कुरा पनि मुख्य होइन । प्रधानमन्त्री भनेको एउटा संस्था हो । त्यही संस्थाले आफूलाई प्रधानमन्त्री बनायो, त्यही संसद्प्रति अनुदार हुनु लज्जास्पद कुरा हो ।

सांसद पन्तले संसद् लोकतन्त्रको सर्वोच्च थलो भएकाले त्यसको गरिमा र प्रभावकारिता कमजोर हुने खालका गतिविधि स्वीकार्य नहुने बताइन् । उनले सरकार र संसद्बीच समन्वय, संवाद र उत्तरदायित्वको सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिइन् ।

उनले मुलुकमा देखिएका विभिन्न राजनीतिक तथा जनसरोकारका विषय समाधानका लागि सरकारले सबै राजनीतिक दलसँग संवाद गर्नुपर्ने आवश्यकता पनि औँल्याइन् । नागरिकका समस्या समाधान गर्न सहकार्य र समझदारीको वातावरण बनाउन सरकार अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com