काठमाडौं। सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रिया द्वारा पेशी व्यवस्थापन गर्ने वर्तमान प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट पारेको छ ।
केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको र यस प्रणालीलाई बदल्न लागिएको भन्दै भ्रामक समाचार तथा हल्लाहरू फैलिएपछि सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रिया का बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच, धारणा वा योजना औपचारिक रूपमा कतै पनि चर्चा र छलफलमा नरहेको स्पष्ट उल्लेख गरिएको छ ।
अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन सम्बन्धी कार्यविधि निर्देशिका, २०७८ बमोजिम नै हाल मुद्दाहरूको पेसी व्यवस्थापन भइरहेको र यसै प्रणालीलाई निरन्तरता दिइने सर्वोच्च अदालतले प्रष्ट पारेको छ ।
सर्वोच्चले गोला प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउन आवश्यक सुधारका लागि भने निरन्तर प्रयास भइरहेको पनि जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया