काठमाडौं। नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढिरहेको छ ।
सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार हालसम्म कुल ६९ लाख २३ हजार चार सय ४३ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
यसमध्ये ७.१ प्रतिशत महिला र ९२.९ प्रतिशत पुरुष रहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा (साउनदेखि फागुनसम्म) मात्र ५ लाख २५ हजार पाँच सय १३ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
यसमध्ये नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या दुई लाख ७३ हजार पाँच सय ३० रहेको छ भने बिदामा आएर पुनः श्रम स्वीकृति नवीकरण गरेर जानेको संख्या दुई लाख ५१ हजार नौ सय ८३ छ ।
गत वर्षको तुलनामा नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या १३.७ प्रतिशतले घटेको छ भने नवीकरण गरेर जानेको संख्या १५.९ प्रतिशतले बढेको छ ।
सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा एक हजार ८६ जना नेपाली कामदारको मृत्यु भएको छ ।
मृतकका परिवारलाई क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
यसै अवधिमा गम्भीर बिरामी तथा अंगभंग भएका ६०१ जना कामदारले आर्थिक सहायता पाएका छन् ।
ज्यान गुमाएका कामदारका तीन हजार चार सय ८७ जना सन्ततिले छात्रवृत्ति सुविधा पाएका छन् ।
वैदेशिक रोजगारीजन्य ठगीका घटनामा पनि सरकारले कारबाही अघि बढाएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म २७३ वटा मुद्दा अदालतमा दायर भएका छन् र पीडितलाई क्षतिपूर्तिबापत तीन करोड ५० लाख १८ हजार छ सय रुपैयाँ उपलब्ध गराइएको छ ।
अर्कोतर्फ नेपालमा काम गर्न विदेशी कामदार आउने संख्या पनि बढ्दो छ ।
चालु आर्थिक वर्षको आठ महिनामा ३९५ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन् भने ८९० जनाले आफ्नो श्रम स्वीकृति नवीकरण गरेका छन् ।
सरकारले हालसम्म १११ देशलाई संस्थागत रूपमा श्रम स्वीकृति खुला गरेको छ ।
दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत मात्रै जनवरीदेखि मे २१ सम्म थप दुई हजार चार सय ८२ नेपाली कामदार गएका छन् ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया