काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा नेपाली सेनाले दोहोरो भूमिका देखाएको निष्कर्ष निकालेको छ । आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे अध्ययन गरेर आयोगले तयार पारेको प्रतिवेदनमा सेनाको व्यवहारमा एकरुपता नदेखिएको उल्लेख गरिएको हो ।

आयोगका अनुसार आन्दोलन हिंसात्मक बनेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले नेपाली सेनाको सहयोग माग गरेका थिए । तर, सुरक्षाको अवस्था जटिल बन्दै जाँदा पनि आवश्यक समन्वय र सक्रियता नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

advertisement

प्रतिवेदनमा भनिएको छ, “भदौ २३ र २४ गते दिनभर सरकारले निर्णय नगरेकाले सेना परिचालन हुन नसकेको भनिएको थियो । तर, भदौ २४ गते राति १० बजेपछि भने सरकारको औपचारिक निर्णयबिनै सेना परिचालन भएको देखिन्छ । यसले सेनाको भनाइ र व्यवहारबीच एकरुपता नदेखिएको अवस्था स्पष्ट हुन्छ ।”

आयोगले भदौ २४ गते राजधानीसहित देशका विभिन्न स्थानमा भएको तोडफोड, आगजनी र आक्रमणका घटनाप्रति पनि गम्भीर प्रश्न उठाएको छ । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवन, सिंहदरबार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, सरकारी कार्यालय, राजनीतिक दलका नेताहरूका निवास तथा निजी संरचनामाथि आक्रमण गर्दा सुरक्षा निकायहरू प्रभावकारी रूपमा सक्रिय हुन नसकेको आयोगको ठहर छ ।

प्रतिवेदनमा सुरक्षाको संवेदनशील अवस्थामा राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालित हुन नसक्दा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com