काठमाडौं । भारतसँग सीमा जोडिएका झापाका विभिन्न नाकामा रोहिङ्ग्या शरणार्थीसहित विदेशी नागरिकको अनधिकृत प्रवेश रोक्न सुरक्षा सतर्कता उच्च पारिएको छ।
गृह मन्त्रालयको निर्देशनानुसार विदेशी नागरिकको अवैध प्रवेश नियन्त्रण गर्न सुरक्षा संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको झापाका सहायक प्रजिअ प्रसाईंले जानकारी दिए।
काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, टाघनडुब्बा, केचना र बाहुनडाँगी जस्ता संवेदनशील सीमावर्ती क्षेत्रमा अनधिकृत घुसपैठ हुनसक्ने सूचना प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए।
छिमेकी मुलुक भारतका पश्चिम बङ्गाललगायत विभिन्न प्रान्तमा अनधिकृत बसोबास गर्दै आएका आप्रवासीलाई स्वदेश फर्काउने अभियान सुरु हुनसक्ने चर्चासँगै उनीहरू नेपालतर्फ प्रवेश गर्नसक्ने आँकलन गरिएको छ।
यसैक्रममा सशस्त्र प्रहरी बलको २ नं गणले पूर्वी नाका काँकडभिट्टामा स्थानीय बासिन्दालाई सचेत गराउँदै कुनै पनि विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन माइकिङमार्फत आग्रह गरेको छ।
म्यान्माबाट विस्थापित भई बङ्गलादेश पुगेका रोहिङ्ग्या समुदायका व्यक्ति सुरक्षित आश्रयको खोजीमा विभिन्न देशमा फैलिरहेका छन्।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया