काठमाडौं। पोखराको फिर्के खोलास्थित खोलाघरमै निर्माण गरिएको लिटिल स्टेप स्कुल को भवन तत्काल नभत्काउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
विद्यालयले आफ्नो स्वीकृत नक्साअनुसार निर्माण गरिएको संरचना भत्काउन लागिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम तत्काल कुनै बाधा अवरोध नगर्न आदेश दिएको हो ।
विद्यालयका प्राचार्य डा. कैलाश तिमिल्सिनाले बन्दोबस्ती मिलाउन समय आवश्यक रहेको उल्लेख गर्दै रिट दिएका थिए । निवेदनमा अतिक्रमित संरचना हटाउने कार्यको विरोध नभए पनि दर्ता स्रेस्ताभित्र स्वीकृत नक्साअनुसार बनेको भवनलाई जानकारी नै नदिई एकपक्षीय रूपमा रेखाङ्कन गरेर डोजर चलाउन खोजिएको दाबी गरिएको छ ।
अदालतले विपक्षीहरूलाई कारण देखाऊ आदेश जारी गर्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, दुवै पक्षलाई जेठ २५ गते छलफलका लागि उपस्थित हुन भनिएको छ ।
उता पोखरा महानगरपालिका ले फिर्के खोलाको खोलाघर खाली गराउने अभियान आइतबारदेखि निरन्तर सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया