काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी स्थानीय तह निर्वाचनभन्दा एक वर्षअघि नै धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार घोषणा गरेका छन् ।
उनले एमाले छोडेर आफ्नो पार्टीमा आएका पूर्ववडाध्यक्ष धनबहादुर राईलाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै हर्क साम्पाङले भनेका छन्, “मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन ब. राई नै देखेँ !”
धनबहादुर राई धरानको वडा नम्बर ४ बाट एमालेबाट वडाध्यक्ष जितेका थिए ।
उनी हर्क साम्पाङले चलाएको श्रमदानमा सक्रिय सहभागी भएपछि नेकपा (एमाले) ले उनलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेको थियो ।
त्यसपछि उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।
हर्क साम्पाङले मेयरको अर्का आकांक्षी निना चन्द्रलाई प्रदेशको मन्त्री बनाइदिने आश्वासन दिएका छन् ।
उनले “आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो” भन्दै घोषणा गरेका छन् ।
यो घोषणाले धरानको स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
हर्क साम्पाङले आफ्नो कार्यकालको लिगेसीलाई निरन्तरता दिन धनबहादुर राईलाई अगाडि सारेर आफ्नो प्रभाव कायम राख्ने प्रयास गरेको देखिन्छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया